२६ बैशाख २०८३, शनिबार

चीनको स्कुला हिमाल विश्व भूगर्भीय निकुञ्जमा सूचीकृत

बेइजिङ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले चीनको सिचुआन प्रान्तको रङ्गपा क्षेत्रमा अवस्थित स्कुला हिमाललाई विश्व भूगर्भीय निकुञ्जको मान्यता प्रदान गरेको छ । अप्रिल २७ तारिखका दिन युनेस्कोले उक्त मान्यताको प्रमाणपत्र औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।

स्कुला हिमाल तिब्बती पठारको पूर्वी सीमानामा रहेको पहिलो विश्व भूगर्भीय निकुञ्ज हो । साथै, पाँच हजार मिटरभन्दा उच्च हिमशिखरहरूको सर्वाधिक सघनता भएको यो विश्वकै एक मात्र भूगर्भीय निकुञ्ज पनि हो । यो मान्यतासँगै चीनको पारिस्थितिक सभ्यताको निर्माणमा अन्तर्राष्ट्रिय स्तरको एउटा ‘स्वर्ण पदक’ थपिएको छ ।

स्कुला हिमाल विश्व भूगर्भीय निकुञ्ज सिचुआनको रङ्गपा तिब्बती तथा च्याङ स्वायत्त प्रिफेक्चरको बत्सनल्हा जिल्लामा पर्छ । तिब्बती पठार र सिचुआन बेसिनबीचको संक्रमण क्षेत्रमा रहेको यो निकुञ्ज करोडौं वर्षको ‘पृथ्वीको विशाल ग्रन्थ’ हो । यसलाई तिब्बती पठारको अध्ययनका लागि ‘भूगर्भीय संग्रहालय’ पनि भनिन्छ ।

चिनियाँ भूगर्भीय विज्ञान प्रतिष्ठानको खनिज भूगर्भीय अनुसन्धान संस्थानका अनुसन्धानकर्ता झाङ युआनहाईका अनुसार, विश्व भूगर्भीय निकुञ्जमा सूचीकृत हुन तीन आधारभूत मापदण्ड पूरा गर्नुपर्छ– भूगर्भीय धरोहरको मूल्य, जैविक विविधताको मूल्य र सांस्कृतिक धरोहरको मूल्य । स्कुला निकुञ्जमा चीनको पश्चिमी भूभागको संरचनाको केन्द्रबिन्दु रहेको छ । यहाँ पश्चिमी भूभागीय समूहहरूको अवसादी चट्टानको पुनर्निर्माण संरचना, तिब्बती पठारको पूर्वी सीमानाका हिमशिखर तथा अनुपम हिमानी भूआकृतिहरूको विशेषता पाइन्छ ।

यस क्षेत्रको विशेषता के छ भने, यहाँ टेथिस सागरदेखि तिब्बती पठारको पूर्वी सीमानाको उत्थानसम्मको भूगर्भीय परिवर्तनको क्रम अंकित छ । यसको वैज्ञानिक मूल्य र विश्वव्यापी तुलनात्मक महत्व अत्यधिक रहेको झाङ बताउँछन् ।

विश्व भूगर्भीय निकुञ्जमा सूचीकृत भएपछि यहाँको भूगर्भीय धरोहर र पारिस्थितिक वातावरणको मूल स्वरूप जोगाइराख्नुपर्ने हुन्छ । यसका लागि स्कुला विश्व भूगर्भीय निकुञ्ज आवेदन समूहले सिचुआन प्रान्तीय भौतिक भूगोल अनुसन्धान संस्थान, चिनियाँ विज्ञान प्रतिष्ठान, नान्जिङ विश्वविद्यालयलगायतका वैज्ञानिक शक्तिसँग मिलेर हिमाल र जंगलमा ३० भन्दा बढी चरणबद्ध सर्वेक्षण गरेको थियो । जसअन्तर्गत ३ विश्वस्तरीय, ११ राष्ट्रियस्तरीय र ४६ क्षेत्रीयस्तरीय भूगर्भीय धरोहरको चरणबद्ध पहिचान गरिएको छ ।

भूगर्भ, पारिस्थितिकी र संस्कृतिको समन्वित मूल्यलाई प्रस्ट्याउँदै वैज्ञानिक संरक्षण, विज्ञान प्रसार शिक्षा र सदुपयोगका लागि बलियो डेटा समर्थन प्रदान गरिएको छ ।

विश्व भूगर्भीय निकुञ्ज भनेको दिगो विकासको क्षेत्र हो, बन्द गरिएको ‘संरक्षण क्षेत्र’ होइन । युनेस्कोले समुदायको सहभागिता, सांस्कृतिक तथा पर्यटन एकीकरण र हरित विकासलाई प्रवर्द्धन गर्दै संरक्षण र विकासबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएको छ ।

यस क्षेत्रका लागि सामूहिक पर्यटन सेवा, लोक सस्कृतिक पुनरुत्थान, विशेष उत्पादनको निकासी र विज्ञान प्रसार प्रचारमा सक्रियतापूर्वक संलग्न हुनुपर्ने सुझाव दिइएको छ । साथै, बत्सनल्हाको रातो स्याउ, उच्च पहाडी गुलाफ र च्याङ जातिको पेय पदार्थजस्ता स्थानीय विशेष उत्पादनको प्रवर्द्धन गरी जनताको निरन्तर आयवृद्धि सुनिश्चित गर्दै पारिस्थितिक संरक्षण, हरित विकास र जनजीविको सुधारबीचको एकीकरण गर्नुपर्ने सिफारिस गरिएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button