नाटक ‘अछेता’मा कर्णालीको जीवन, मष्ट परम्परा र विभेदको चित्रण

काठमाडौं । कर्णालीको खस सभ्यता, मष्ट परम्परा, जातीय विभेद, गरिबी र स्वास्थ्य पहुँचको अभावलाई केन्द्रमा राखेर तयार गरिएको नाटक ‘अछेता’ बत्तिसपुतलीस्थित शिल्पी नाटकघरमा मञ्चन भइरहेको छ।
लेखक तथा निर्देशक गोविन्द सुनारद्वारा निर्देशित नाटकले कर्णालीको सामाजिक यथार्थलाई एक दलित परिवारको संघर्षमार्फत प्रस्तुत गरेको छ। नाटकको मुख्य पात्र दल कामी आफ्ना पुर्खादेखि मान्दै आएको मष्ट परम्परा, धामीप्रतिको विश्वास र सामाजिक संरचनाबीच बाँचेको पात्र हो। तर आफ्नै नवजात छोरालाई बचाउन नसक्दा उसको आस्था, परम्परा र जीवनदृष्टि नै प्रश्नको घेरामा पर्छ।


नाटकमा दल कामीको भूमिकामा झकेन बिसी र उनकी श्रीमती गीताको भूमिकामा सुस्मिता कुवँर देखिएका छन्। अघिल्ला दुई सन्तान गुमाइसकेकी गीता तेस्रो सन्तानलाई बचाउन चाहन्छिन्। बच्चा बिरामी भएपछि उनी तत्काल स्वास्थ्य संस्थामा लैजान आग्रह गर्छिन्, तर दल भने देउता, धामी र अछेतामै भरोसा गर्छ। स्वास्थ्य संस्थामा डाक्टर नहुनु, जिल्ला अस्पतालबाट चिकित्सक सहर झरेको अवस्था र आर्थिक अभावले परिवारको संकट थप गहिरिन्छ।
नाटकले कर्णालीका दुर्गम भूगोलमा स्वास्थ्य सेवा, शिक्षा, पोषण र आर्थिक अवसरको कमजोर अवस्थालाई भावनात्मक तर यथार्थपरक ढंगले उठाएको छ। नवजात शिशु बचाउन परिवारले भोग्नुपरेको संघर्षले कर्णालीमा मातृ तथा शिशु स्वास्थ्यको संवेदनशील अवस्थालाई पनि उजागर गर्छ।
‘अछेता’मा मष्ट परम्परा र धामी संस्कृतिलाई केवल धार्मिक आस्थाका रूपमा मात्र नभई कर्णाली समाजको सांस्कृतिक संरचनाका रूपमा प्रस्तुत गरिएको छ। झ्याली, दमाहा, मागल, असारे भाका, ठाडी भाका र बालो नाचजस्ता सांस्कृतिक तत्वहरूले नाटकलाई कर्णालीको स्थानीय स्वाद र जीवनशैलीसँग जोडेको छ।
नाटकले जातीय विभेदलाई पनि गहिरो रूपमा प्रस्तुत गरेको छ। समाजमा दल कामीको सीप र श्रम स्वीकारिन्छ, तर देवस्थलमा उनको उपस्थितिलाई अस्वीकार गरिन्छ। धामी काँप्दा छुवाछुत मेटिएजस्तो देखिए पनि धामी रोकिएपछि समाज फेरि पुरानै विभेदमा फर्किन्छ भन्ने दृश्यले नाटकको मूल प्रश्नलाई अझ तीव्र बनाएको छ।
नाटकको दृश्य संरचना पनि प्रभावकारी छ। सेतो कमेरो र रातो माटोले लिपिएको घर, घरछेउको आरन, पिँढीमा राखिएको गाग्री र गिलास, राता, सेता र पहेँला ध्वजाले सजाइएको थानले कर्णालीको ग्रामीण जीवनलाई रंगमञ्चमा जीवन्त बनाएको छ।
नाटकमा गीता परिवर्तन, चेतना र व्यावहारिक विवेकको प्रतीकका रूपमा देखिन्छिन्। उनी अन्धविश्वासभन्दा उपचारमा भरोसा गर्छिन्। तर पितृसत्तात्मक सोच र परम्परागत विश्वासका कारण उनको निर्णयलाई बेवास्ता गरिन्छ। यसमार्फत नाटकले महिलामाथिको सामाजिक दबाब र निर्णय अधिकारको प्रश्नसमेत उठाएको छ।
लेखक तथा निर्देशक गोविन्द सुनारले नाटकलाई आफूले बाँचेको समाजको कथा भनेका छन्। कर्णाली र दलित समुदायको जीवन अनुभव नजिकबाट बुझेका कारण उनले पात्रहरूको पीडा, संघर्ष र सांस्कृतिक जटिलतालाई संवेदनशील ढंगले प्रस्तुत गरेका छन्।
नाटक ‘अछेता’ले कर्णालीलाई केवल भूगोलका रूपमा होइन, आस्था, अभाव, विभेद, श्रम, संस्कृति र संघर्षको साझा कथाका रूपमा मञ्चमा उतारेको छ। यसले देवता, समाज, राज्य र परम्पराको नाममा मानिसले भोगिरहेको पीडामाथि गम्भीर प्रश्न उठाएको छ।





