बीवाइडी प्रकरण : रसुवागढी भन्सार प्रमुखसहित ९ कर्मचारी जिम्मेवारीमुक्त, विभाग तानिए

काठमाडौं । कर छलीको आशंकामा सशस्त्र प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका बीवाइडी विद्युतीय सवारी साधनमाथि अनुसन्धान जारी रहेकै बेला अर्थ मन्त्रालयले रसुवागढी भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईसहित नौ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरेको छ।
भन्सार यार्डमा सवारी साधन नआईकन चीनतर्फ नै गएर गाडीको जाँचपास गराएको सूचनापछि भन्सार प्रमुख भट्टराईसहित नौ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरी भन्सार विभाग तानिएको हो। ‘यस प्रकरणमा भन्सार प्रमुखसहित नौ जनालाई जिम्मेवारीमुक्त गरेर भन्सार विभाग तानिएको छ,’ अर्थ मन्त्रालयका जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाले जानकारी दिए।
ढुंगानाले यस प्रकरणमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित अनुसन्धान टोलीले छानबिन गरिरहेको र दोषी देखिएकामाथि कारबाही गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिबद्ध रहेको बताए। ‘यस सम्बन्धमा अर्थमन्त्री डा. वाग्ले, भन्सार विभागका महानिर्देशक र मन्त्रालयका अधिकारीबीच गम्भीर छलफल भएको छ। गहन अनुसन्धान गरेर दोषी देखिएकालाई कारबाही गर्न अर्थमन्त्री प्रतिबद्ध हुनुहुन्छ,’ उनले भने।
यसैबीच, सशस्त्र प्रहरी बलले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७ सय ७९ वटा बीवाइडी गाडीका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले छानबिन समितिले सवारी साधन नियन्त्रणमा लिइएकै स्थलमा पुगेर द्रुत गतिमा छानबिन सुरु गरिसकेको जानकारी दिइन्। ‘सवारी साधनको सङ्ख्या ठूलो भएकाले राजस्व र भन्सार सम्बद्ध सबै कानुनी कागजातको सूक्ष्म अध्ययन र प्रमाणीकरण गर्न केही समय लाग्न सक्छ,’ दाहालले भनिन्।





