गहुँबारीमै जीवित सम्पदा : चीनमा संरक्षण र विकासको नयाँ अभ्यास
बेइजिङ। चीनको मध्य भागमा पर्ने हेनान प्रान्तस्थित गोङयीको बालिङ गाउँमा यतिबेला गहुँ भित्र्याउने चटारो छ। सुनौला गहुँका फाँटमा हार्भेस्टरहरू चलिरहेका छन् भने त्यही खेतबीच शताब्दीयौँ पुराना ढुंगाका मूर्तिहरू मौन रूपमा उभिएका छन्। कृषि जीवन, ऐतिहासिक सम्पदा र आधुनिक प्रविधि एउटै दृश्यमा देखिने यो क्षेत्र चीनको सांस्कृतिक सम्पदा संरक्षणको फरक अभ्यासका रूपमा चिनिएको छ।
गोङयीस्थित योङताई समाधि क्षेत्र वरपर उत्तरी सोङ राजवंशकालीन ढुंगाका मूर्तिहरू रहेका छन्। ती मूर्तिहरू सन् ९६० देखि ११२६ सम्मको उत्तरी सोङ कालमा निर्माण गरिएका हुन्। बालिङ गाउँको नाम नै “आठ समाधि” भन्ने अर्थसँग जोडिएको छ। यहाँ १ हजार २७ वटा ढुंगाका ऐतिहासिक अवशेष सुरक्षित रहेका छन्। यस क्षेत्रलाई प्राचीन मूर्तिकलाको “खुला आकाशमुनिको संग्रहालय”का रूपमा वर्णन गरिएको छ।
सामान्यतया सांस्कृतिक अवशेषहरू संग्रहालयभित्र काँचका बाकस वा संरक्षित कक्षमा राखिने गर्छन्। तर बालिङका मूर्तिहरू खेतबारी, ग्रामीण जीवन र पहेंलो नदीले आकार दिएको उर्वर भूमिसँगै जोडिएर बसेका छन्। स्थानीय खेतमा गहुँ काटिँदै गर्दा ती मूर्तिहरू इतिहासका मौन साक्षीझैँ देखिन्छन्।
चीनको सिचुआन प्रान्तबाट आएका एक पर्यटक लियाङले यस क्षेत्रको अनुभव संग्रहालयभन्दा भिन्न रहेको बताए। उनका अनुसार यहाँ खेतहरूबीच इतिहास प्रत्यक्ष रूपमा महसुस गर्न सकिन्छ। उनले कुनै संग्रहालयले यस्तो अनौठो अनुभव दिन नसक्ने बताए।
तर खुला वातावरणमा रहेका यस्ता मूर्तिहरूको संरक्षणबारे प्रश्न पनि उठ्ने गरेको छ। कतिपयले ती मूर्तिहरूलाई किन काँच वा बन्द संरचनाभित्र राखिँदैन भन्ने जिज्ञासा राख्छन्। गोङयी सांस्कृतिक अवशेष प्रशासनका प्रमुख झु सिङलीका अनुसार ती मूर्तिहरूले शताब्दीयौँदेखि कठ्याङ्ग्रिने जाडो र चर्को गर्मी दुवै सहँदै आएका छन्। काँचको आवरण बनाउँदा हावाको प्रवाह रोकिने र तापक्रम थुनिएर साउनाजस्तो अवस्था बन्न सक्ने भएकाले अवशेषहरूलाई थप जोखिम हुन सक्ने उनले बताए।
झुका अनुसार यस क्षेत्रको संरक्षण भनेको केवल मूर्ति जोगाउनु मात्र होइन, ती अवशेष र पुस्तौँदेखि तिनलाई घेरेको प्राकृतिक तथा सांस्कृतिक परिवेशबीचको सम्बन्ध जोगाउनु पनि हो। यही कारण मूर्तिहरूलाई खेत, गाउँ र परम्परागत जीवनबाट अलग नगरी संरक्षण गर्ने नीति अपनाइएको छ।
शौकिया फोटोग्राफर लिउ लिहेङका लागि यही सहअस्तित्व यस क्षेत्रको प्रमुख आकर्षण हो। उनी उच्च गतिका रेल, प्राचीन ढुंगाका मूर्ति र सुनौलो गहुँबारीलाई एउटै फ्रेममा कैद गर्ने प्रयास गर्छन्। उनको भनाइमा यो चीनको विगत र वर्तमानबीचको संवाद हो।
बालिङको अभ्यास चीनले आफ्नो विशाल सांस्कृतिक सम्पदा जोगाउँदै त्यसलाई समकालीन जीवनसँग जोडेर राख्न गरिरहेको व्यापक प्रयासको एउटा उदाहरण हो। चीनले सन् २०२३ मा पछिल्लो राष्ट्रिय सांस्कृतिक सम्पदा सर्वेक्षण सुरु गरेको थियो। यसै महिना सम्पन्न हुने उक्त सर्वेक्षणले अघिल्लो गणनामा सूचीकृत करिब ७ लाख ६७ हजार सम्पदा स्थलको पुनः परीक्षण गर्नुका साथै १ लाख ३० हजारभन्दा बढी थप सम्पदा स्थल पहिचान गरेको छ।
खुला क्षेत्रमा रहेका सोङकालीन ढुंगाका मूर्तिहरू मात्र होइन, चीनका हजारौँ सांस्कृतिक अवशेष संग्रहालयहरूमा पनि संरक्षित छन्। हाल चीनमा ७ हजारभन्दा बढी दर्ता भएका संग्रहालय छन्। आधिकारिक तथ्यांकअनुसार ती संग्रहालयहरूले सन् २०२५ मा करिब ४५ हजार प्रदर्शनी आयोजना गरेका थिए भने १ अर्ब ५६ करोड पटक अवलोकन भएको थियो।
शनिबार चीनको सांस्कृतिक तथा प्राकृतिक सम्पदा दिवस मनाइँदै छ। राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनका अनुसार यस अवसरमा देशभरका सांस्कृतिक निकाय र संस्थाहरूले अनलाइन तथा प्रत्यक्ष रूपमा ७ हजारभन्दा बढी कार्यक्रम आयोजना गर्नेछन्।
चीनको संरक्षणसम्बन्धी सोच विस्तार हुँदै जाँदा सम्पदा संरक्षण संग्रहालयका पर्खालभित्र मात्र सीमित छैन। राजधानी बेइजिङको सेन्ट्रल एक्सिस पनि सम्पदा संरक्षण र शहरी विकासबीच सन्तुलन कायम गर्ने उदाहरणका रूपमा प्रस्तुत गरिएको छ। करिब ७.८ किलोमिटर लामो उत्तर–दक्षिण मार्गले बेइजिङका धेरै ऐतिहासिक संरचनाहरूलाई जोड्छ। यो चीनका ६० वटा विश्व सम्पदा क्षेत्रमध्ये एक हो।
तियानआनमेन स्क्वायर नजिकको छाउछाङ क्षेत्रमा पुनर्स्थापना परियोजनामार्फत पुराना भवन र प्राचीन गिल्ड हलहरू जोगाइएको छ। त्यहाँका खाली आँगनसहितका परम्परागत घरहरूलाई आधुनिक सुविधासहित बुटिक होटलमा रूपान्तरण गरिएको छ, तर तिनलाई आसपासको आवासीय समुदायसँगै जोडेर राखिएको छ।
पुनर्स्थापना परियोजना व्यवस्थापन गरिरहेको तियानजे ग्रुपका उपमहाप्रबन्धक हाओ दोङस्युएले परम्परागत वास्तुकलाको चरित्र सुरक्षित राख्दै आधुनिक सुविधा थपिएको बताए। उनका अनुसार यस्ता परियोजनाले आसपासका बस्तीको समग्र सुधारमा पनि सहयोग पुर्याएका छन्।
स्थानीय बासिन्दा जियाओ शुछिनका अनुसार पुनर्स्थापनापछि पनि त्यहाँका गल्लीहरूले परम्परागत बेइजिङको अनुभूति दिन छाडेका छैनन्। उनले खैरो इँटाका पर्खाल, पुराना रूख र आँगनहरू अझै यथावत् रहेको बताइन्।
गहुँबारीबीच उभिएका ढुंगाका रक्षकदेखि राजधानीका पुनर्स्थापित पुराना बस्तीसम्म, चीनको सम्पदा संरक्षण अभ्यासले संरक्षण र विकासबीच सन्तुलन खोज्ने राष्ट्रिय रणनीतिलाई प्रतिबिम्बित गर्छ। यसले सांस्कृतिक सम्पदालाई केवल अतीतको वस्तुका रूपमा नभई वर्तमान जीवन र भविष्यका पुस्तासँग जोडिएको जीवित स्रोतका रूपमा हेर्ने दृष्टिकोण अघि सारेको छ।
साङ्घाईस्थित फुदान विश्वविद्यालयअन्तर्गत भूमि तथा सांस्कृतिक स्रोत अनुसन्धान केन्द्रका निर्देशक दु सियाओफानका अनुसार सम्पदा संरक्षणको मूल उद्देश्य अतीतलाई मात्र सुरक्षित राख्नु होइन। मानवता र सम्पदाबीचको आध्यात्मिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिनु र भविष्यका पुस्ताका लागि त्यसलाई उपयोगी बनाउनु नै संरक्षणको मुख्य लक्ष्य हुनुपर्छ।





