भारतीय मापदण्डले नेपाली चिया संकटमा, ८३ उद्योग बन्दको तयारी

काठमाडौं । भारतीय चिया बोर्डले लागू गरेको नयाँ गुणस्तर परीक्षण मापदण्डका कारण नेपाली चिया निर्यात प्रभावित भएपछि इलाम र झापाका चिया उद्योग संकटमा परेका छन्। निर्यात अवरुद्ध भएसँगै इलामका ५३ र झापाका ३० गरी ८३ चिया उद्योग बन्द गर्ने तयारी गरिएको छ।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका अनुसार निर्यातमा अवरोध आएपछि इलामको सूर्योदय नगरपालिकाभित्रका ५३ चिया उद्योगले सोमबारदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन्। त्यस्तै, नेपाल चिया उत्पादक संघले झापाका साना–ठूला गरी ३० चिया उद्योग तथा दर्जनभन्दा बढी चिया बगान असार ४ गतेदेखि बन्द गर्ने निर्णय गरेको जनाएको छ।
एसोसिएसनका अनुसार भारतीय बजारमा पुगिसकेको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूमा थप सात लाख किलोभन्दा बढी तयारी चिया मौज्दात रहेको जनाइएको छ। उत्पादन भएको चिया बिक्री हुन नसक्दा गोदाम भरिएको र किसानलाई हरियो चियापत्तीको भुक्तानी गर्न कठिन भएको उद्योगीहरूको भनाइ छ।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले तयारी चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन गर्न असहज अवस्था आएको बताए। उनका अनुसार किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयार पारिएको चिया बिक्री नभएपछि उद्योगहरू आर्थिक दबाबमा परेका छन्।
भारतीय चिया बोर्डले मे १ देखि लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ अनुसार नेपालबाट भारत निर्यात हुने प्रत्येक खेपको चियाको गुणस्तर परीक्षण अनिवार्य गरिएको छ। उद्योगीहरूका अनुसार परीक्षण प्रतिवेदन आउन दुई साताभन्दा बढी समय लाग्ने, प्रतिवेदन नआउँदासम्म चिया बिक्री गर्न नपाइने र नमुना परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने व्यवस्थाले व्यापारिक जोखिम बढाएको छ।
एसोसिएसनका महासचिव गोपाल कट्टेलले यसपटकको समस्या विगतका अवरोधभन्दा गम्भीर रहेको बताए। उनका अनुसार विगतमा पनि विभिन्न बहानामा नेपाली चिया निर्यातमा अवरोध आउने गरेको भए पनि अहिले बजारमा पुगिसकेको चियासमेत बिक्री गर्न नपाउने अवस्था सिर्जना भएको छ।
उद्योगी पुनम राईले गुणस्तरमै समस्या भए भन्सार बिन्दुमै परीक्षण हुनुपर्ने बताए। उनका अनुसार बजारमा पुगिसकेको चिया बिक्री रोक्दा उद्योगी, किसान र श्रमिक सबै पक्ष प्रभावित भएका छन्।
चिया उद्योग बन्द हुँदा उद्योगमा कार्यरत श्रमिक मात्र नभई हरियो चियापत्ती टिप्ने श्रमिक र किसानसमेत प्रत्यक्ष प्रभावित हुनेछन्। उद्योगले प्रशोधन बन्द गरेपछि किसानले हरियो चियापत्ती टिपाइ रोक्नुपर्ने अवस्था आउँछ। लामो समयसम्म टिपाइ रोकिए चियापत्ती बोटमै हुर्किने र किसानलाई थप क्षति पुग्ने उद्योगीहरूको भनाइ छ।
सूर्योदय नगरपालिकामा मात्रै दुई हजार ९९५ किसान चिया खेतीमा संलग्न छन्। नगरपालिकाको ३३ हजार ६५५ रोपनी क्षेत्रमा वार्षिक करिब दुई करोड किलो हरियो चियापत्ती उत्पादन हुने गरेको जनाइएको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कृषि अधिकृत इन्द्र अधिकारीका अनुसार नेपालबाट वार्षिक ७० लाख किलोभन्दा बढी अर्थोडक्स चिया निर्यात हुने गरेको छ। त्यसको ९० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजारमा निर्भर छ। इलामलगायत पहाडी जिल्लामा मुख्य रूपमा अर्थोडक्स अर्थात् पत्तीवाला चिया उत्पादन हुन्छ भने झापामा सीटीसी अर्थात् दानादार चिया उत्पादन हुँदै आएको छ।
नेपालले वार्षिक करिब सवा चार अर्ब रुपैयाँ बराबरको तयारी चिया निर्यात गर्दै आएको छ। चिया क्षेत्रमा किसान र श्रमिक गरी करिब ५० हजार व्यक्ति प्रत्यक्ष संलग्न रहेको व्यवसायीहरूको भनाइ छ।
नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले भारतीय पक्षले लगाएको अवरोध नहटाएसम्म झापाका उद्योग र बगान बन्द गर्ने निर्णय भएको बताए। उनका अनुसार निर्यात अवरोध कायम रहे उद्योग सञ्चालन सम्भव नहुने अवस्था आएको छ।
झापामा १० हजार हेक्टरभन्दा बढी क्षेत्रमा चिया खेती हुँदै आएको छ। त्यहाँ २० हजारभन्दा बढी किसान तथा श्रमिक प्रत्यक्ष रूपमा चिया क्षेत्रमा आबद्ध छन्।
सूर्योदय नगरपालिकाले भारतीय कदमलाई गैरभन्सार अवरोधका रूपमा व्याख्या गर्दै समस्या समाधानका लागि नेपाल सरकारसँग तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ। उद्योगी, किसान र जनप्रतिनिधिहरूले चिया संकटलाई इलाम र झापाको मात्र नभई राष्ट्रिय उत्पादन, निर्यात, रोजगारी र विदेशी मुद्रा आर्जनसँग जोडिएको गम्भीर आर्थिक विषयका रूपमा लिनुपर्ने बताएका छन्।
इलामका सांसद सुहाङ नेम्वाङले पनि चिया उद्योगमा देखिएको संकटबारे सरकारको ध्यानाकर्षण गराएका छन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, उद्योग–वाणिज्य मन्त्रालय, कृषि मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत उच्चस्तरीय कूटनीतिक पहल गरी चियाको बिक्री तथा निकासी खुलाउन माग गरेका छन्।
नेम्वाङले परीक्षण प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य र समयबद्ध हुनुपर्नेमा जोड दिएका छन्। उनले चियाको शीघ्र परीक्षण, नेपालका प्रयोगशालाबाट जारी प्रमाणपत्रलाई भारतले मान्यता दिने व्यवस्था र प्रभावित उद्योगलाई सहुलियतपूर्ण चालु पुँजी उपलब्ध गराउनुपर्ने बताएका छन्।
चिया व्यवसायीहरूले भारतसँग तत्काल कूटनीतिक संवाद गरी निर्यातमा देखिएको अवरोध हटाउन सरकारसँग माग गरेका छन्। समस्या समयमै समाधान नभए किसानको आम्दानी, उद्योगको लगानी, श्रमिकको रोजगारी र नेपालको चिया निर्यातमा दीर्घकालीन असर पर्न सक्ने व्यवसायीहरूको चेतावनी छ।





