८ असार २०८३, सोमबार

करोडौं बजेट तर निर्माणमा छैन गति : बुद्धसिंह मार्गले नपाएको प्राथमिकता

डुम्रे (तनहुँ) — तनहुँको ग्रामीण क्षेत्रलाई सदरमुकाम, कृषि बजार र चितवनसँग जोड्ने रणनीतिक महत्त्वको बुद्धसिंह मार्ग निर्माण सुरु भएको लामो समय बितिसकेको छ। सङ्घ, प्रदेश र स्थानीय तहबाट वर्षौंदेखि बजेट विनियोजन भइरहे पनि निर्माणको गति भने सुस्त छ।

देवघाट गाउँपालिका–२ लुङ्ग्रीङका सुन्तला किसान नवराज गुरुङले बुद्धसिंह मार्ग ग्रामीण क्षेत्रलाई बजार र सदरमुकामसँग जोड्ने मुख्य सडक भए पनि निर्माणले गति नलिँदा किसानले सास्ती भोग्नुपरेको बताए। “जिल्लाको सबैभन्दा विकट मानिने देवघाट गाउँपालिकाको ग्रामीण क्षेत्रलाई बजारसँग जोड्ने यो मुख्य सडक हो,” उनले भने, “सडकको स्तरोन्नति नहुँदा ढुवानीमा समस्या भइरहेको छ।”

देवघाट गाउँपालिकाको कुल ३१८ हेक्टर खेतीयोग्य भूमिमध्ये २६१ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुन्छ। उक्त क्षेत्रबाट वार्षिक दुई हजार ६७२ मेट्रिकटन सुन्तला उत्पादन हुने गरेको कृषि विकास कार्यालय तनहुँका सूचना अधिकारी किरण परियारले जानकारी दिए। “बुद्धसिंह मार्ग निर्माण भए कृषकलाई उत्पादन विविधीकरण र बजार पहुँच विस्तारमा ठूलो सहयोग पुग्छ,” उनले भने।

सडकको ट्र्याक खोल्ने अभियानका अगुवा यामबहादुर आलेले सडकलाई कृषि मार्गका रूपमा अघि बढाइएकाले छिट्टै विकास हुने अपेक्षा गरिएको भए पनि त्यो पूरा हुन नसकेको बताए। “यस मार्गको विकास हुन सके यहाँ उत्पादित खाद्यवस्तु र फलफूलले राम्रो बजार पाउने थिए,” उनले भने, “तर किसानको समस्या नबुझ्दा गाउँबस्ती रित्तिँदै गएका छन्।”

बजेट अभाव मुख्य समस्या

पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना अधिकारी इन्जिनियर सुष्मा पाण्डेका अनुसार बजेट अभाव नै निर्माण ढिलाइको मुख्य कारण हो। “वार्षिक रूपमा कम्तीमा रु १८ करोडदेखि २० करोडसम्म आवश्यक पर्छ,” उनले भनिन्, “तर पर्याप्त बजेट नहुँदा ठेकेदार कम्पनीले आवश्यक गतिमा काम गर्न सकेको छैन।”

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले बुद्धसिंह मार्ग तथा यससँग सम्बन्धित सडक स्तरोन्नतिका लागि रु नौ करोड ४० लाख बजेट विनियोजन गरेको छ। तर मुख्य सडक निर्माणकै लागि पर्याप्त बजेट नभएको सरोकारवालाको भनाइ छ।

बुद्धसिंह मार्गको कालोपत्र तथा स्तरोन्नति कार्यका लागि सङ्घीय र गण्डकी प्रदेश सरकारको समपूरक योजनाअन्तर्गत रु ३४ करोड २७ लाख ५४ हजार ५६१ लागतमा ‘मैनाचुली–सफल जेभी’ सँग सम्झौता गरिएको छ। “रु ३४ करोडको योजनामा प्रत्येक वर्ष रु दुई–दुई करोड मात्रै विनियोजन हुँदा निर्माण सम्पन्न हुन लामो समय लाग्ने देखिन्छ,” पाण्डेले भनिन्।

रणनीतिक महत्त्व, सुस्त गति

पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न खोजिएको यो सडकले दमौलीदेखि चितवनको घुमाउनेघाटसम्मको दूरी उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ। हाल दमौलीबाट घुमाउनेघाटसम्म साना सवारीसाधन सञ्चालन भइरहे पनि पुल अभावमा ठूला सवारीसाधन सीमाक्षेत्रमै रोकिन बाध्य छन्।

स्थानीय सिद्धान्त थापा गर्जा मगरका अनुसार मार्गलाई प्रदेश गौरव तथा रणनीतिक सडकका रूपमा प्रस्तुत गरिए पनि निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। “कतिपय खण्डमा ट्र्याक खुलेको छ, तर स्तरोन्नति, कालोपत्रे र पुल निर्माणका काम अझै अधुरा छन्,” उनले भने।

बुद्धसिंह मार्गले देवघाट, ऋषिङ, बन्दीपुर, आँबुखैरेनी र व्यास नगरपालिकाका स्थानीयलाई प्रत्यक्ष लाभान्वित गर्ने अपेक्षा गरिएको छ। तर निर्माणमा भएको ढिलाइले कृषि बजार पहुँच, पर्यटन विकास र स्थानीय अर्थतन्त्रमा अपेक्षित लाभ पुग्न सकेको छैन। स्थानीयवासीले सडक र घुमाउनेमा त्रिशूली नदीमाथिको पुल निर्माणलाई शीघ्रता दिन दबाबमूलक अभियानसमेत सञ्चालन गरिरहेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button