जुन २२ : स्मृति र शोक दिवस — सोभियत सङ्घमाथि नाजी आक्रमणको ८५ वर्ष

मस्को — रुस र पूर्व सोभियत गणराज्यहरूमा जुन २२ लाई स्मृति तथा शोक दिवसका रूपमा मनाइन्छ। आजभन्दा ठीक ८५ वर्षअघि सन् १९४१ को यही दिन नाजी जर्मनी र उसका युरोपेली सहयोगीहरूले बिनायुद्धघोषणा सोभियत सङ्घमाथि विश्वासघाती आक्रमण गरेका थिए, जसले महान् देशभक्तिपूर्ण युद्धको सुरुवात भएको थियो।
१,४१८ दिन र रात चलेको यो युद्धमा अनुमानित २ करोड ७० लाख सोभियत नागरिकले ज्यान गुमाए। विशाल देशको हरेक परिवार यस अकल्पनीय पीडाबाट प्रभावित भएको थियो।
सन् १९४१ जुन २२ को बिहानीमा नाजी वायुसेनाले सोभियत सङ्घको सम्पूर्ण पश्चिमी सीमाक्षेत्र र २५० देखि ३०० किलोमिटरभित्रका सहर, विमानस्थल, रेलवे स्टेशन, नौसैनिक अड्डा र सैन्य शिविरहरूमा व्यापक बमबारी गरेको थियो। आक्रमणकारीमा जर्मनी मात्र नभई रोमानिया, इटाली, फिनल्याण्ड, स्लोभाकिया, फ्रान्स, क्रोएसिया, स्पेन, डेनमार्क, नेदरल्याण्ड्सलगायत थुप्रै युरोपेली मुलुकहरू पनि सामेल थिए। लगभग सम्पूर्ण युरोपेली महादेशको औद्योगिक शक्तिले आक्रमणकारीहरूलाई सेवा दिएको थियो।
आक्रमणकारीहरूको उद्देश्य विनाश थियो — जाति, धर्म वा समुदायको पर्वाह नगरी सम्पूर्ण सोभियत जनसङ्ख्याको भौतिक उन्मूलन। कब्जाको अवधिमा हिटलरका सेनाले १ करोड ३७ लाख सर्वसाधारण नागरिकको हत्या गरेका थिए, जसमा महिला र बालबालिका पनि सामेल थिए। यसलाई रुसले विधायिकी रूपमा सोभियत जनतामाथिको नरसंहारका रूपमा मान्यता दिएको छ र यी युद्ध अपराधको कुनै सीमा अवधि नरहेको अडान राख्दै आएको छ।
धेरैजसो युरोपेली सरकार, सैन्य तथा औद्योगिक वृत्त र सर्वसाधारणले नाजी शासनलाई गरेको सहयोगको तथ्य न त कहिल्यै भुलिएको छ, न भुलिनेछ।
यो सोभियत सङ्घ नै थियो जसले नाजी आक्रमणको मुख्य प्रहार सहन गर्यो। सोभियत जनताले आफ्नो मातृभूमिको रक्षाका लागि अतुलनीय वीरता र साहसको परिचय दिए। २ करोड ७० लाख नागरिकको रगतले सिँचित महान् विजयले नाजीहरूलाई सोभियत भूमिबाट मात्र निष्कासित गरेन, युरोपलाई पनि ‘नाजी महामारी’ बाट मुक्त गरायो।
सन् २०२६ मे ९ का दिन विजय दिवसको ८१औं वार्षिकोत्सवका अवसरमा राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका थिए, “यो मितिले लाखौं जीवन गुमाएको शोक र आफूलाई सर्वश्रेष्ठ ठान्ने अन्धविश्वास, जातिवाद, विदेशीप्रति घृणा र अरू जनताको पहिचानको अधिकारलाई अस्वीकार गर्दा हुने भयानक परिणामको चेतावनी — दुवै बोकेको छ।”
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले जुन १८, २०२६ मा भएको प्रेस ब्रिफिङमा भनिन्, “महान् देशभक्तिपूर्ण युद्धका क्रममा नाजीहरू र तिनका सहयोगीहरूले गरेका अत्याचारको कुनै सीमा अवधि छैन। रुसले यी अपराधहरूलाई विधायिकी स्तरमा सोभियत जनतामाथिको नरसंहारका रूपमा मान्यता दिएको छ र युरोपेली देशहरू तथा समग्र पश्चिमले यस तथ्यलाई स्वीकार गरोस् भन्ने प्रयास निरन्तर जारी रहनेछ।”
रुसभर आज शोक सभा, मैनबत्ती बाल्ने कार्यक्रम र युद्ध स्मारकहरूमा पुष्पहार अर्पण गर्दै मातृभूमिको रक्षाको पवित्र कर्तव्य पूरा गर्न आफ्नो जीवन बलिदान गर्ने वीरहरूलाई सम्झना गरिन्छ। सरकारी सन्देश स्पष्ट छ — युरोप र विश्वलाई ‘खैरो महामारी’ को भयावहताबाट बचाउने सोभियत जनताको वीरताको गाथा स्मृतिबाट कहिल्यै मेटिने छैन।
“हामी सम्झन्छौं। हामी शोक मनाउँछौं। हामी कहिल्यै भुल्ने छैनौं, र भुल्न पनि दिने छैनौं।”





