२० भाद्र २०८३, शनिबार

विद्युत व्यापारमा नेपालको नयाँ रेकर्ड, खुद बचत १८ अर्ब ७६ करोड

ड्रागन मिडिया समाचार कक्ष

नेपालले आर्थिक वर्ष २०८२/०८३ मा सीमापार विद्युत व्यापारबाट १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद बचत गर्दै नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३ को विद्युत आयात–निर्यात तथ्यांकअनुसार समीक्षा वर्षमा भारत र बङ्गलादेशतर्फ विद्युत निर्यातबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी भएको छ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशत बढी हो। आर्थिक वर्ष २०८१/०८२ मा विद्युत निर्यातबाट १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो।

अघिल्लो आर्थिक वर्षमा दुई अर्ब ३८ करोड २९ लाख युनिट विद्युत निर्यात गरिएकोमा समीक्षा वर्षमा निर्यात परिमाण ६२.७२ प्रतिशतले बढेर तीन अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको छ।

प्राधिकरणले भारतीय खुला विद्युत बजार तथा भारतको प्रसारण संरचना प्रयोग गरी बङ्गलादेशसँग गरिएको त्रिपक्षीय व्यापारमार्फत औसत सात रुपैयाँ ५६ पैसा प्रतियुनिटका दरले विद्युत बिक्री गरेको हो।

विद्युत निर्यात उल्लेख्य रूपमा बढ्दा भारतबाट हुने आयात भने घटेको छ। आर्थिक वर्ष २०८१/०८२ मा एक अर्ब ६८ करोड चार लाख युनिट विद्युत आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ खर्च भएको थियो।

समीक्षा वर्षमा आयात परिमाण ३१.५७ प्रतिशतले घटेर एक अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ। आयात खर्च पनि १८.२९ प्रतिशतले घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा झरेको छ।

समीक्षा वर्षको २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ निर्यात आम्दानीबाट १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँ आयात खर्च घटाउँदा नेपालको खुद विद्युत व्यापार बचत १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ पुगेको हो।

अघिल्लो आर्थिक वर्षमा यस्तो खुद बचत चार अर्ब ५३ करोड ५७ लाख रुपैयाँ थियो। यस आधारमा एक वर्षमै खुद व्यापार बचत करिब ३१३.७१ प्रतिशतले बढेको देखिन्छ।

ऊर्जाको परिमाणका आधारमा पनि नेपालले आयातभन्दा दुई अर्ब ७२ करोड ७६ लाख ९२ हजार युनिट बढी विद्युत निर्यात गरेको छ। यसले नेपाल वर्षभरिको समग्र विद्युत व्यापारमा स्पष्ट खुद निर्यातकर्ता बनेको देखाउँछ।

वर्षायाममा नदी तथा खोलामा पानीको बहाव बढ्दा नेपालमा विद्युत उत्पादन उच्च हुने गरेको छ। उत्पादन आन्तरिक मागभन्दा बढी भएपछि अतिरिक्त विद्युत भारत र बङ्गलादेशतर्फ निर्यात गरिन्छ।

हिउँद र सुक्खायाममा नदी प्रवाही आयोजनाको उत्पादन घट्ने भएकाले आन्तरिक माग व्यवस्थापन गर्न नेपालले अझै भारतबाट विद्युत आयात गर्दै आएको छ। त्यसैले सकारात्मक व्यापार सन्तुलन हासिल भए पनि मौसमी आयातको आवश्यकता पूर्ण रूपमा अन्त्य भएको छैन।

स्वदेशी जलविद्युत उत्पादनको विस्तार, नयाँ आयोजनाको सञ्चालन, सीमापार प्रसारणलाइनको क्षमता वृद्धि र क्षेत्रीय विद्युत बजारमा बढेको पहुँचले निर्यात वृद्धि गर्न सहयोग पुर्‍याएको हो।

भारतसँगको खुला बजार, मध्यकालीन विद्युत बिक्री सम्झौता र बङ्गलादेशसँग शुरु भएको त्रिपक्षीय व्यापारले नेपालको विद्युतका लागि क्षेत्रीय बजार विस्तार गरेको छ।

पछिल्लो तथ्यांकले नेपाललाई दक्षिण एसियामा उदीयमान खुद विद्युत निर्यातकर्ताका रूपमा स्थापित गरेको छ। अब उत्पादन वृद्धिसँगै आन्तरिक प्रसारण प्रणाली सुदृढ गर्ने, वर्षायामको अतिरिक्त विद्युत खेर जान नदिने र हिउँदको आयात निर्भरता घटाउने चुनौती भने कायम छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button