२० भाद्र २०८३, शनिबार

हिलो, अँध्यारो र खोजीबीच केरुङ : विपद क्षेत्रबाट एक फोटो पत्रकारको आँखाले

जिग्मे दोर्जे
सिन्ह्वा

नेपाली अनुवाद तथा सम्पादन : ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ समाचार संस्था सिन्ह्वाका फोटो पत्रकार जिग्मे दोर्जे अगस्ट ३१ मा हेलिकोप्टरमार्फत चीन–नेपाल सीमास्थित केरुङको मुख्य विपद क्षेत्रमा पुगेका थिए। प्रस्तुत सामग्री उनले घटनास्थलमा देखेका दृश्य, उद्धारकर्मीसँग गरेको कुराकानी र त्यहाँ बिताएको रातबारे सिन्ह्वाका लागि लेखेको प्रत्यक्ष विवरणको नेपाली रूपान्तरण हो।

अगस्ट ३१ को साँझ पर्दै गर्दा हाम्रो हेलिकोप्टर गन्तव्यमा पुग्यो। जमिनभन्दा केही मिटर माथि हेलिकोप्टर मडारिइरहेका बेला मैले क्यामेराको झोला छातीमा च्यापेर तल हाम फालें। जहाँ ओर्लिएँ, त्यो विशाल हिलोको मैदानजस्तो देखिन्थ्यो।

म सिचाङ स्वायत्त क्षेत्रको चीन–नेपाल सीमामा रहेको केरुङ बन्दरगाहको विपदग्रस्त केन्द्रमा पुगेको थिएँ। नेपालतर्फ उच्च हिमाली क्षेत्रमा भएको हिमनदीसम्बन्धी पतनपछि अगस्ट २६ मा तीव्र गतिमा आएको श्रृंखलाबद्ध माटो–ढुंगा बहावले केरुङ क्षेत्रलाई प्रभावित गरेको पाँच दिन भइसकेको थियो। सेप्टेम्बर २ को मध्याह्नसम्म २१ जनाको मृत्यु भएको र ५४१ जना बेपत्ता रहेको विवरण थियो।

म एक सहकर्मीसँग त्यहाँ पुगेको थिएँ। फोटो पत्रकारका रूपमा घटनास्थलमै पुगेर वास्तविक अवस्था अभिलेख गर्नु मेरो पेशागत दायित्व थियो।

खुट्टा जमिनमा टेक्नासाथ गहिरो हिलोमा भासिए। दुवै खुट्टा अड्किए, शरीर केही क्षण असन्तुलित भयो। हेलिकोप्टर तल झर्दै गर्दा झ्यालबाट हेर्दा समथर जमिनमाथि हिलो फैलिएको जस्तो मात्र देखिएको थियो। ओर्लिएपछि मात्रै त्यो हिलो कति गहिरो रहेछ भन्ने थाहा भयो।

मैले खुट्टा निकाल्ने प्रयास गरें। तर हिलोले उल्टै तानेजस्तो लाग्थ्यो। केही बेर निकै संघर्ष गरेपछि मात्रै अलिकति चल्न सकें।

हेलिकोप्टरमार्फत सिधै मुख्य विपद क्षेत्रमा पुर्‍याइएका सीमित पत्रकारमध्ये हामी पनि थियौं। त्यसबेला स्थलमार्गबाट प्रभावित केन्द्रसम्म पुग्ने बाटो गम्भीर रूपमा क्षतिग्रस्त थियो। उत्खनन यन्त्रहरू चौबीसै घण्टा सडक खोल्न र जीवनरेखा पुनः सञ्चालनमा ल्याउन खटिरहेका थिए।

१४१ सदस्यीय पहिलो उद्धार टोली अगस्ट २७ को बिहान केरुङ पुगेको थियो। त्यससँगै उच्च उचाइमा सञ्चालन गर्न सकिने हेलिकोप्टर पनि परिचालन गरिएको थियो। भोलिपल्ट २१ जना उद्धारकर्मी र एउटा खोजी कुकुरसहितका दुई व्यावसायिक टोली सीमा प्रवेशद्वार नजिकको मुख्य उद्धार क्षेत्रमा पुग्ने पहिलो विशेषज्ञ टोली बने।

“तपाईंहरू पत्रकार हो, होइन?” एक अग्नि उद्धारकर्मीले सोधे।

“आजको अन्तिम हेलिकोप्टर यही हो। आज राति फर्किनुहुन्न?”

“हो,” मैले भनें, “हामी पत्रकार हौं।”

वरिपरि हेर्दा मलाई केरुङ कति पटक आएको छु भन्ने नै सम्झन गाह्रो भयो।

एउटा पुरानो यात्रा भने अझै स्पष्ट स्मृतिमा छ। त्यसबेला म केरुङ शहरतर्फ जाने पहाडी बाटोको जिफु गाउँमा स्थानीयले चलाएको एउटा सानो अतिथि गृहमा बसेको थिएँ। बिहान चराको चिरबिरले निद्रा खुलेको थियो। झ्यालबाट हेर्दा तल उपत्यकाभर बादलको समुद्र फैलिएको थियो। नजिकै मानिसहरू हाँस्दै कुरा गरिरहेका थिए। एक नेपाली कर्मचारी अलिकति अड्किँदै मन्डारिन भाषामा बोलिरहेको सुनिन्थ्यो।

मेरो स्मृतिमा केरुङ त्यस्तै थियो।

तर अहिले दृश्य पूर्णतः बदलिएको थियो।

विनाशग्रस्त भूभागको बीचमा एउटा वर्गाकार कङ्क्रिट संरचना मात्र स्पष्ट रूपमा बाँकी देखिन्थ्यो। त्यो बन्दरगाहका कर्मचारी र स्थानीय बासिन्दालाई खानेपानी उपलब्ध गराउने पुरानो जलाशय थियो।

दर्जनौं वर्गमिटर फैलिएको त्यस जलाशयको ढक्कनमाथि विपद क्षेत्रमा सबैभन्दा पहिले पुगेका अग्नि उद्धारकर्मीले एउटा सानो रातो पाल टाँगेका थिए। त्यो पालमा एक दर्जनभन्दा बढी उद्धारकर्मीको अस्थायी शिविर मुश्किलले अटाएको थियो।

मेरो सहकर्मी र मैले बेल्चाले छेउको हिलो खनेर एउटा सानो समथर ठाउँ बनायौं। एक जनाको पाल अट्ने जति मात्रै ठाउँ थियो। त्यहीँ हामीले रात बिताउने भयौं।

त्यसपछि फेरि क्यामेरा बोकेर काममा लाग्यौं।

उद्धारकर्मीहरू विपद क्षेत्रभर फैलिएका थिए। उनीहरू हिलो खोतल्दै, भग्नावशेष पल्टाउँदै र सम्भावित स्थानहरू जाँच्दै बेपत्ताको खोजी गरिरहेका थिए। हामीले केही उद्धारकर्मीको अन्तर्वार्ता लियौं र उनीहरूको काम क्यामेरामा कैद गर्‍यौं।

अँध्यारो बढ्दै जाँदा थाकेका उद्धारकर्मीहरू क्रमशः शिविरतर्फ फर्किन थाले। तर पहाडको फेदीतर्फ एक जना अझै टाउको झुकाएर बिस्तारै हिँड्दै खोजी गरिरहेका थिए।

राति ९ बज्दासम्म चारैतिर पूर्ण अँध्यारो भइसकेको थियो। धेरै उद्धारकर्मी शिविरमा फर्किए। केहीले बसेर जुत्तामा टाँसिएको हिलो खुर्कन थाले।

एक तिब्बती अग्नि उद्धारकर्मीले मोजा खोल्दा उनका खुट्टा लामो समय हिलोपानीमा भिजेर सेता र चाउरिएका थिए।

रातभर भारी उपकरण गर्जिरहे। सडक सफा र मर्मत गर्ने काम रोकिएन। टाढा विद्युत र सञ्चार पुनःस्थापनामा खटिएका टोलीका बत्ती निरन्तर झिलमिलाइरहेका थिए।

उद्धारकर्मीहरू खाना खान बसे र हामीलाई पनि बोलाए। उनीहरूसँग भुटेका बन र मासुको परिकार थियो। उद्धारकर्मीका लागि ड्रोनमार्फत सामग्री खसालिएको थियो।

“आजको यो हाम्रो पहिलो खाना हो,” एक आप्रवासन प्रहरी अधिकृतले भने।

कुराकानीका क्रममा उनीहरूले अघिल्लो रातको घटना सम्झिए।

पहाडबाट एउटा विशाल ढुंगा खसेर केरुङ जाङ्बो नदीमा पुगेको थियो। सुरुमा गहिरो चर्किएको जस्तो आवाज आयो। त्यसपछि ढुंगा नदीमा बज्रिँदा ठूलो आवाज सुनियो।

“आवाज यति ठूलो थियो कि हामी निकै डरायौं,” एक उद्धारकर्मीले भने, “ढुंगा पानीमा खस्दा उछिट्टिएको पानी र आवाजका कारण त्यो रात कोही पनि सुत्न सकेनौं।”

सुत्नुअघि एक आप्रवासन प्रहरी अधिकृतले हाम्रो पालनजिकैको ठाउँ देखाए।

“केही भयो भने तुरुन्त यही बाटोमाथि चढ्नुहोस्,” उनले भने, “त्यहाँको फलामे रेलिङ समात्नुहोस्।”

त्यो हाम्रो आपत्कालीन भाग्ने बाटो थियो।

हिलो खनेर बनाएको सानो समथर ठाउँमा पाल टाँगिएको थियो। तर राति परेको मुसलधारे वर्षाले पालभित्रै सानो पोखरी बनाइदियो।

म मध्यरातमा अचानक ब्युँझिएँ। चारैतिर पानी थियो। शरीरको स्थिति बदलें, सुत्ने झोलाको मुख कसिलो बनाएँ र फेरि जबर्जस्ती निदाउने प्रयास गरें।

भोलिपल्ट बिहान उठ्दा उद्धारकर्मीहरू फेरि बाहिर निस्कने तयारीमा थिए। हामीले पालभित्र जमेको पानी फाल्यौं र सामान मिलाउन थाल्यौं। अघिल्लो रात सिरानी बनाएका कपडा पूर्ण रूपमा भिजिसकेका थिए।

यो देखेपछि एक अग्नि उद्धारकर्मीले हामीलाई उद्धार पोसाक ल्याइदिए र लगाउन आग्रह गरे।

म बाहिर निस्किएर केरुङ शहरतर्फ फर्केर हेरें। करिब छ–सात सय मिटर पर उत्खनन यन्त्रहरू फेरि काममा लागिसकेका थिए।

अर्को दिन शुरु भइसकेको थियो।

विपदको केन्द्रमा उद्धारकर्मीहरू पहिले नै पटक–पटक खोजिएका क्षेत्र फेरि छान्दै थिए। कतै सुन्तला रङको पोसाकमा अग्नि उद्धारकर्मी थिए, कतै गाढा निलो पोसाकमा आप्रवासन प्रहरी। रोग नियन्त्रण पोसाक लगाएका कीटाणुनाशक टोली थिए भने क्यामेरा र नोटबुक बोकेका प्रहरी पनि घटनास्थलमा खटिएका थिए।

शुरुमा सबैको एउटै लक्ष्य थियो, जीवित मानिस भेटाउने।

उनीहरूले पटक–पटक आवाज लगाए। भग्नावशेष पल्टाए। हिलो खने। सम्भव ठानिएको प्रत्येक स्थानमा खोजे।

तर समय बित्दै जाँदा सबैले स्वीकार गर्न नचाहेको एउटा कठोर वास्तविकता विस्तारै नजिकिँदै थियो।

बिहान करिब १० बजे उद्धारकर्मीहरूले केही समय काम रोके। उनीहरू मौन उभिएर विपदमा ज्यान गुमाएकाप्रति छोटो श्रद्धाञ्जली अर्पण गरे।

त्यसपछि उनीहरूले फेरि सुरक्षात्मक हेल्मेट लगाए र हिलोभित्र अघि बढे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button