२१ भाद्र २०८३, आईतवार

केरुङ विपदको केन्द्रमा : हिलो, अँध्यारो र बेपत्ताको खोजीबीच बितेको एक रात

पासाङ ल्हामु

अगस्ट ३१ को साँझ झर्दै गर्दा हेलिकप्टर केरुङ बन्दरगाहको विपद प्रभावित क्षेत्रमा अवतरणको तयारीमा थियो। जमिनको सतह जस्तो देखिएको ठाउँ वास्तवमा गहिरो हिलोले ढाकिएको थियो। केही मिटरमाथि मडारिरहेको हेलिकप्टरबाट ओर्लिएका पत्रकारका खुट्टा भुइँ छोएसँगै हिलोभित्र गहिरोसम्म धसिए।

नेपालको उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि शुरु भएको हिम, चट्टान र लेदोसहितको तीव्र बहावले अगस्ट २६ मा चीन–नेपाल सीमास्थित सिचाङ स्वायत्त क्षेत्रको केरुङ बन्दरगाहलाई गम्भीर रूपमा प्रभावित गरेको थियो। सेप्टेम्बर २ को मध्यान्हसम्म चीनतर्फ २१ जनाको मृत्यु पुष्टि भएको र ५४१ जना बेपत्ता रहेको विवरण सार्वजनिक भएको थियो।

विपदको पाँच दिनपछि घटनास्थल पुगेका केही पत्रकारमध्ये एक फोटो पत्रकार र उनका सहकर्मी पनि थिए। सडकमार्ग पूर्ण रूपमा सञ्चालनमा आइसकेको थिएन। पहिरो र लेदोले क्षतिग्रस्त मुख्य मार्ग खुलाउन एक्साभेटर र अन्य भारी उपकरण चौबीसै घण्टा परिचालित थिए।

पहिलो १४१ सदस्यीय उद्धार टोली तथा उच्च हिमाली क्षेत्रमा उडान गर्न सक्ने हेलिकप्टर अगस्ट २७ बिहान केरुङ बन्दरगाह पुगेका थिए। त्यसको भोलिपल्ट २१ सदस्यीय दुई व्यावसायिक उद्धार टोली र एउटा खोजी कुकुर सीमास्थित मुख्य प्रभावित क्षेत्रमा प्रवेश गरेका थिए।

विपदअघि केरुङको दृश्य बिल्कुलै फरक थियो। पहाडको बीचमा रहेको जिफु गाउँका साना अतिथि गृह, बिहान चराको आवाज, उपत्यकामाथि फैलिएको बादल र स्थानीय तथा नेपाली कामदारबीचको संवादले यो सीमाक्षेत्रलाई जीवन्त बनाएको थियो। तर विपदपछि त्यही भूभागमा हिलो, भग्नावशेष र उद्धार टोलीको गतिविधिमात्र देखिन्थ्यो।

विपद क्षेत्रको ठूलो भाग लेदोले पुरिएको अवस्थामा खानेपानी आपूर्तिका लागि प्रयोग हुने एउटा कङ्क्रिटको जलाशयको माथिल्लो सतह मात्र स्पष्ट देखिन्थ्यो। प्रारम्भिक चरणमै पुगेका अग्नि उद्धारकर्मीले त्यही जलाशयको ढकनीमाथि सानो रातो पाल टाँगेर अस्थायी शिविर बनाएका थिए। एक दर्जनभन्दा बढी उद्धारकर्मीका लागि त्यो ठाउँ नै रात बिताउने आधार बनेको थियो।

पत्रकार टोलीले पनि उद्धारकर्मीको पाल नजिकै बेल्चाले हिलो सम्याएर एउटा सानो पाल अट्ने ठाउँ बनायो। तर त्यहाँ पुग्नु आरामका लागि थिएन। क्यामेरा लिएर उनीहरू फेरि उद्धार क्षेत्रमा फर्किए।

उद्धारकर्मीहरू विशाल हिलो क्षेत्रभरि छरिएका थिए। कोही भग्नावशेष पल्टाउँदै थिए, कोही हात र औजारले हिलो खन्दै थिए भने कोही सम्भावित जीवित व्यक्तिको संकेत खोजिरहेका थिए।

साँझ गहिरिँदै जाँदा अधिकांश उद्धारकर्मी थकित अवस्थामा शिविर फर्कन थाले। तर पहाडको फेदीतिर एक उद्धारकर्मी अँध्यारोमै टाउको निहुराएर विस्तारै खोजी गरिरहेको देखिन्थ्यो।

राति करिब ९ बजेसम्म धेरै उद्धारकर्मी शिविरमा फर्किसकेका थिए। केहीले जुत्तामा जमेको हिलो निकाल्न थाले। लामो समय हिलो र पानीमा काम गरेका एक तिब्बती अग्नि उद्धारकर्मीले मोजा खोल्दा उनका खुट्टाको छाला सेतो र चाउरी परेको थियो।

रातभर भारी उपकरणको आवाज रोकिएन। सडक खुलाउने काम चलिरह्यो। टाढा विद्युत र सञ्चार पुनःस्थापना गर्ने टोलीका बत्तीहरू अँध्यारोमा झिलिमिली देखिन्थे।

उद्धारकर्मीले पत्रकारहरूलाई पनि खानामा सहभागी हुन आग्रह गरे। ड्रोनमार्फत पुर्‍याइएको खाद्यान्नबाट उनीहरूले मासुसहितका परिकार खाए। एक अध्यागमन प्रहरी अधिकारीले त्यो दिन आफूहरूले खाएको पहिलो खाना भएको बताए।

त्यही रात अर्को जोखिम पनि देखिएको थियो। पहाडबाट खसेको विशाल चट्टान केरुङ जाङ्बो नदीमा बजारिएको थियो। उद्धारकर्मीका अनुसार पहिले गहिरो चिरिएको जस्तो आवाज आएको थियो र त्यसपछि ठूलो चट्टान नदीमा खस्दा शक्तिशाली आवाज र पानीको छाल उठेको थियो।

त्यस घटनाले उद्धारकर्मीहरूलाई रातभर सचेत बनाएको थियो। सम्भावित थप पहिरो वा आकस्मिक बहावको जोखिमका कारण सुत्नुअघि एउटा अध्यागमन प्रहरी अधिकारीले पत्रकारहरूलाई आपत्कालीन अवस्थामा भाग्ने बाटो देखाएका थिए। नजिकै रहेको फलामे रेलिङ समातेर माथि चढ्न उनले निर्देशन दिएका थिए।

राति परेको ठूलो वर्षाले पत्रकारहरूको पालभित्र पानी भरियो। उनीहरूले हिलो सम्याएर तयार पारेको सानो ठाउँ केही घण्टामै पानी जम्ने खाल्डोमा परिणत भयो। सुत्ने झोलासमेत भिजे पनि उनीहरूले त्यहीँ रात बिताए।

भोलिपल्ट बिहान उनीहरू उठ्दा उद्धारकर्मी फेरि काममा निस्कने तयारी गरिरहेका थिए। पत्रकारहरूले पालभित्रको पानी फाल्दै सामान समेटिरहेका बेला एक अग्नि उद्धारकर्मीले उनीहरूलाई उद्धार पोशाक दिएर लगाउन आग्रह गरे।

करिब ६०० देखि ७०० मिटर पर एक्साभेटरहरू बिहानैदेखि काममा जुटिसकेका थिए। अर्को दिनको खोजी फेरि शुरु भइसकेको थियो।

सुन्तला रङको पोशाकमा अग्नि उद्धारकर्मी, गाढा निलो वर्दीमा अध्यागमन प्रहरी, रोग नियन्त्रण पोशाकमा कीटाणुशोधन टोली तथा क्यामेरा र नोटबुक बोकेका प्रहरी अधिकारीहरू प्रभावित क्षेत्रमा परिचालित थिए।

शुरुका दिनमा सबैको प्राथमिकता जीवित व्यक्तिको खोजी थियो। उद्धारकर्मीले बारम्बार आवाज लगाउँथे, भग्नावशेष हटाउँथे र हिलोभित्र सम्भावित प्रत्येक स्थान खोज्थे। तर समय बित्दै जाँदा उनीहरूले सामना गर्न नचाहेको कठोर वास्तविकता क्रमशः स्पष्ट हुँदै गइरहेको थियो।

बिहान करिब १० बजे उद्धार कार्य केही समय रोकियो। उद्धारकर्मीहरू मौन उभिएर मृतकको सम्झनामा छोटो श्रद्धाञ्जली कार्यक्रममा सहभागी भए।

त्यसपछि उनीहरूले फेरि सुरक्षा हेल्मेट लगाए र हिलोतर्फ अघि बढे। बेपत्ताको खोजी फेरि शुरु भयो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button