कांग्रेसको देउवा समूह समानान्तर महाधिवेशनतर्फ, ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समानान्तर महाधिवेशनको चरणमा पुगेको छ। पार्टीको देउवा समूहले छुट्टै १५औँ केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढाउँदै देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
१५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक दीपकप्रसाद कुँइकेलले शनिबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार वडा तहदेखि अधिवेशन प्रक्रिया सञ्चालन गर्न केन्द्रीय प्रतिनिधि तोकिएका हुन्। सार्वजनिक गरिएको सूचीमा प्रत्येक जिल्लाका लागि छुट्टाछुट्टै प्रतिनिधि खटाइएको छ।
विज्ञप्तिमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गरिएको छ। कथित विशेष महाधिवेशन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी गतिविधि अघि बढाएको अवस्थामा चौथो महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने वैधानिक दायित्व रहेको देउवा समूहको दाबी छ।
यसअघि साउन २९, ३० र ३१ गते भएको नेपाली कांग्रेसको राष्ट्रिय भेला तथा सम्मेलनको निर्देशनअनुसार भदौ १७ र १८ गते बसेको महाधिवेशन तयारी समितिको बैठकले १५औँ केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यसअघि असोज १५ गतेदेखि वडा अधिवेशन शुरु गर्ने तयारी गरिएको छ। अधिवेशन सम्पन्न गर्न जिल्ला अधिवेशन तयारी समिति, संघीय निर्वाचन क्षेत्रस्तरीय समिति, प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय समिति, पालिका अधिवेशन तयारी समिति र वडा अधिवेशन तयारी समिति गठन गरी प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।
अर्कोतर्फ नेपाली कांग्रेसको अर्को पक्षले असोज १५ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्ने कार्यक्रम अघि सारेको छ। यससँगै एउटै पार्टीको १५औँ महाधिवेशनका लागि दुई पृथक कार्यतालिका अगाडि आएपछि कांग्रेसको आन्तरिक विवाद संगठनात्मक विभाजनतर्फ जाने जोखिम बढेको छ।
देउवा समूहले सार्वजनिक गरेको सूचीअनुसार पाँचथरमा सूर्यकुमार दाहाल, झापामा महेन्द्रकुमारी लिम्बु, संखुवासभामा दीपक खड्का, तेह्रथुममा सीता गुरुङ, भोजपुरमा उत्तम चापागाईं, धनकुटामा कमेट फागो, मोरङमा भीम पराजुली र सुनसरीमा लक्ष्मी खतिवडालगायतलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको छ। काठमाडौंमा कल्याणी रिजाललाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी लमजुङमा पुष्प पराजुली, तनहुँमा मणिग्राम शर्मा, कास्कीमा शंकर भण्डारी, मनाङमा सीता देवकोटा, मुस्ताङमा किरण पौडेल, पर्वतमा गोपनाथ शर्मा, म्याग्दीमा ऋषि कार्की, बागलुङमा सरस्वती अर्याल तिवारी, नवलपुरमा गुरु बराल र नवलपरासीमा विकास घिमिरेलाई प्रतिनिधि तोकिएको छ।
सर्वोच्च अदालतमा आधिकारिकतासम्बन्धी विवाद विचाराधीन रहेकै अवस्थामा दुई पक्षले पृथक महाधिवेशन प्रक्रिया अघि बढाएपछि नेपाली कांग्रेसको आन्तरिक शक्ति संघर्ष थप जटिल बनेको छ। अब अदालतको निर्णय र दुवै पक्षले अघि बढाउने महाधिवेशन प्रक्रियाले कांग्रेसको संगठनात्मक तथा राजनीतिक भविष्य निर्धारण गर्ने देखिएको छ।





