३० भाद्र २०८३, मंगलवार

बेइजिङमा विदेशी उद्यमीको बढ्दो आकर्षण, खुलापन र नवप्रवर्तनले सिर्जना गर्दै नयाँ अवसर

ड्रागन मिडिया समाचार कक्ष

बेइजिङले विदेशी नागरिकका लागि भिसा प्रक्रिया सहज बनाउने, बहुभाषिक नीति निर्देशिका उपलब्ध गराउने, अन्तर्राष्ट्रिय प्रतिभालाई चिनियाँ साझेदारसँग जोड्ने तथा उद्यमशीलता र नवप्रवर्तनका लागि आवश्यक सहयोग विस्तार गर्दै आफ्नो खुलापनलाई व्यवहारमा उतारिरहेको छ। चीनमा काम गर्न, अध्ययन गर्न, व्यवसाय शुरु गर्न वा दीर्घकालीन रूपमा बसोबास गर्न चाहने विदेशीका लागि राजधानी बेइजिङ अवसर र समावेशिताको महत्वपूर्ण केन्द्र बन्दै गएको छ।

बेइजिङको बढ्दो अन्तर्राष्ट्रिय आकर्षण केवल ठूला भवन, औद्योगिक विकास वा आर्थिक आकारमा सीमित छैन। विदेशी उद्यमीका अनुभवले नीति, सेवा, प्रविधि, बजार पहुँच र सामाजिक स्वीकार्यताको संयोजनले उनीहरूलाई चीनमा दीर्घकालीन रूपमा काम गर्न प्रोत्साहित गरिरहेको देखाउँछ। विभिन्न देशबाट आएका युवा उद्यमीले बेइजिङलाई आफ्नो व्यवसाय, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यको आधार बनाएका छन्।

अमेरिकी नागरिक गाभिन कूली चीनप्रतिको जिज्ञासाबाट बेइजिङ पुगेका थिए। सन् २०१६ मा भाषा अध्ययनका लागि पहिलोपटक चीन आएका उनले त्यसपछि नियमित रूपमा चिनियाँ भाषा र समाजबारे अध्ययन गरे। उच्च शिक्षाका लागि उनले अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयभन्दा पेकिङ विश्वविद्यालय रोजे। चिनियाँ दैनिकीका तीव्र खाना वितरण सेवा, मोबाइल भुक्तानी र उच्च गतिको रेलजस्ता विषय विदेशी दर्शकका लागि रोचक हुन सक्ने देखेपछि उनले चिनियाँ जीवनशैलीलाई विदेशी दृष्टिकोणबाट प्रस्तुत गर्न शुरु गरे। अहिले उनका चिनियाँ सामाजिक सञ्जालमा ३० लाखभन्दा बढी अनुयायी छन्। अध्ययनपछि उनले सांस्कृतिक कम्पनी स्थापना गरी चिनियाँ ब्रान्डलाई विदेशी बजारमा विस्तार गर्न र विदेशी कम्पनीलाई चिनियाँ बजारअनुकूल बन्न सहयोग गरिरहेका छन्।

श्रीलंकाली उद्यमी बिमान नजिका लियानागेको अनुभव फरक छ। सन् २००९ मा बेइहाङ विश्वविद्यालयमा अध्ययन गर्न बेइजिङ पुगेका उनी प्रारम्भिक कठिनाइका कारण स्वदेश फर्किने अवस्थामा पुगेका थिए। तर एक प्राध्यापकको प्रोत्साहनपछि विश्वविद्यालयस्तरीय प्रविधि प्रतियोगितामा भाग लिए र श्रवण तथा दृष्टिसम्बन्धी समस्या भएका मानिसका लागि सञ्चार सहयोगी सेन्सरयुक्त पञ्जा विकास गरेर प्रथम भए। त्यसपछि उनले बेइजिङमै कृत्रिम बुद्धिमत्ता, स्वास्थ्य प्रविधि र वस्तु इन्टरनेट क्षेत्रमा उद्यम शुरु गरे। उनको टोलीले आवाजका विशेषताबाट चिन्ता र अवसादको अवस्था पहिचान गर्ने कृत्रिम बुद्धिमत्ता परियोजनाका लागि १२ लाख अमेरिकी डलरभन्दा बढीको चिकित्सकीय अनुसन्धान सहयोग प्राप्त गरेको छ।

करिब दुई दशकदेखि चीनमा रहेका जर्मन उद्यमी जेल्टेले बेइजिङमा व्यवसाय दर्ता, भिसा प्रक्रिया र प्रतिभा प्रोत्साहनसम्बन्धी नीति क्रमशः सहज हुँदै गएको अनुभव गरेका छन्। उनले सन् २०१९ मा स्थापना गरेको प्रविधि कम्पनीले अन्तर्राष्ट्रिय नवप्रवर्तन परियोजनालाई चिनियाँ बजारसँग जोड्ने काम गर्छ। उनको टोलीमार्फत करिब ३० विदेशी कम्पनीले चीनमा व्यवसायिक उपस्थिति स्थापना गरेका छन् भने सिफारिस गरिएका करिब ९० प्रतिशत परियोजना चीनमा कार्यान्वयनमा पुगेको बताइएको छ।

ब्राजिली उद्यमी ड्यानियलले पनि सन् २०१९ मा केवल ६ हजार युआन प्रारम्भिक पूँजीबाट बेइजिङमा कम्पनी शुरु गरेका थिए। चीन र ब्राजिलबीच प्रविधिक विकासको फरक तहले सहकार्यका लागि ठूलो अवसर सिर्जना गरेको उनको अनुभव छ। उनको कम्पनीले दक्षिण चीनको क्वाङतोङबाट शैक्षिक रोबोटका उपकरण लिएर ब्राजिलको सार्वजनिक विद्यालयका लागि स्थानीय आवश्यकताअनुसार सफ्टवेयर विकास गरेको थियो। त्यसबाट कम्पनीले वार्षिक २० लाख अमेरिकी डलरभन्दा बढी आम्दानी गर्न थालेको र पछि स्मार्ट कृषि तथा भर्चुअल रियालिटी क्षेत्रमा पनि विस्तार भएको छ। गत वर्ष कम्पनीको आम्दानी पाँच करोड युआनभन्दा बढी पुगेको बताइएको छ।

दक्षिण कोरियाली उद्यमी किम जुनबमले १५ वर्षदेखि बेइजिङमा प्रविधि व्यवसाय सञ्चालन गरिरहेका छन्। उनका अनुसार विदेशी उद्यमीलाई लक्षित नीतिगत संरचना क्रमशः व्यावहारिक बन्दै गएको छ। उनको व्यवसाय पछि नयाँ मिडिया उत्पादन क्षेत्रमा पनि विस्तार भयो। विदेशी नागरिक भएकाले सामग्री निर्माण वा साझेदारीमा बाधा आउन सक्ने प्रारम्भिक चिन्ता भए पनि कानुनअनुसार सञ्चालन गरेमा बेइजिङले सिर्जनात्मक उद्यमलाई प्रोत्साहन गर्ने अनुभव उनले सुनाएका छन्। उनी अहिले बेल्ट एन्ड रोड सहकार्यसँग सम्बन्धित वृत्तचित्र श्रृंखला निर्माणको तयारीमा छन्।

बेल्जियमका एन्टोइन ब्रुनेलले बेइजिङको विकासलाई ‘गति’सँग तुलना गरेका छन्। सन् २००६ देखि चीनमा काम गर्दै आएका उनले सञ्चार, मोटरस्पोर्ट र नयाँ ऊर्जा क्षेत्रमा अनुभव हासिल गरेका छन्। उनका अनुसार भिसा प्रक्रियामा सरलीकरण, विदेशी लगानीका लागि थप क्षेत्र खुला हुनु र अनलाइन व्यवसाय दर्ताको सुविधाले विदेशी उद्यमीका लागि वातावरण सहज बनाएको छ। दुई दशकअघि युरोपेली कम्पनी चीन आउन खोज्ने प्रवृत्ति बढी रहेकोमा अहिले चिनियाँ कम्पनी पनि युरोपेली बजारतर्फ तीव्र रूपमा अघि बढिरहेको उनले बताएका छन्।

अफगान उद्यमी वाहेद अहमदजाईले बेइजिङमा १२ वर्ष बिताइसकेका छन्। सात भाषा बोल्न सक्ने उनले विदेशी उद्यमीलाई चिनियाँ नीतिहरू बुझाउन, आधिकारिक कागजात अनुवाद गर्न र कम्पनी स्थापना प्रक्रियामा सहयोग गर्ने काम गर्छन्। सन् २०२१ यता उनको टोलीले सयौँ आदानप्रदान कार्यक्रम आयोजना गर्नुका साथै पाँच हजारभन्दा बढी अन्तर्राष्ट्रिय पेशेवरलाई जोडेको र ५० भन्दा बढी विदेशी कम्पनी तथा परियोजनालाई बेइजिङमा स्थापना हुन सहयोग गरेको बताइएको छ।

यी अनुभवले बेइजिङलाई विदेशी प्रतिभा र उद्यमीका लागि केवल बजार नभई अन्तर्राष्ट्रिय नवप्रवर्तन, प्रविधि र सहकार्यको प्लेटफर्मका रूपमा स्थापित हुँदै गएको देखाउँछन्। विदेशी उद्यमी चिनियाँ सहकर्मीसँग डिजाइन, प्रविधि, उत्पादन, सञ्चार र अनुसन्धानमा काम गरिरहेका छन्। यसले बेइजिङको आर्थिक खुलापनसँगै सांस्कृतिक स्वीकार्यता र अन्तर्राष्ट्रिय सहकार्यको दायरा पनि विस्तार भइरहेको संकेत गर्छ।

चीनको व्यापक खुलापन नीतिको प्रत्यक्ष प्रभाव बेइजिङमा देखिएको छ। राजधानीमा व्यवसायिक अवसर खोज्न आउने विदेशी युवा अब केवल आगन्तुक वा दर्शकका रूपमा सीमित छैनन्। उनीहरू चीनको नवप्रवर्तन र आर्थिक रूपान्तरण प्रक्रियाका सक्रिय सहभागी बन्दै गएका छन्। उनीहरूको अनुभवले राम्रो नीतिले प्रतिभालाई आकर्षित गर्ने र स्वागतयोग्य सामाजिक तथा व्यवसायिक वातावरणले त्यही प्रतिभालाई दीर्घकालीन रूपमा जोडेर राख्ने देखाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button