चीनमा नयाँ प्रवेश–निर्गमन नियम लागू, राष्ट्रिय सुरक्षा जोखिममा कडा निगरानी

ड्रागन मिडिया समाचार कक्ष
चीनले मंगलबारदेखि नयाँ प्रवेश–निर्गमन नियम लागू गर्दै राष्ट्रिय सुरक्षा, प्रविधि सुरक्षा र आपराधिक गतिविधिसँग सम्बन्धित जोखिमका आधारमा आफ्ना नागरिकको विदेश यात्रा तथा विदेशी नागरिकको प्रवेशमाथि थप कडाइ गरेको छ।
नयाँ व्यवस्थाअनुसार राष्ट्रिय प्रविधि सुरक्षाका लागि सम्भावित खतरा मानिएका चिनियाँ नागरिकलाई देश छाड्न रोक लगाउन सकिनेछ। विदेशमा रहँदा चीनको राष्ट्रिय सुरक्षा वा राष्ट्रिय हितमा असर पर्ने गैरकानुनी वा आपराधिक गतिविधिमा संलग्न भएको ठहरिएर स्वदेश फर्किएका नागरिकलाई छ महिनादेखि तीन वर्षसम्म विदेश जान प्रतिबन्ध लगाउन सकिने व्यवस्था गरिएको छ।
विदेशी नागरिकका हकमा भिसा आवेदन गर्दा झूटा विवरण वा गलत सूचना पेस गरेको पाइए एकदेखि पाँच वर्षसम्म चीन प्रवेशमा रोक लगाउन सकिनेछ। यसले भिसा प्रक्रिया, पहिचान प्रमाणीकरण र सुरक्षा परीक्षणलाई थप कडा बनाउने संकेत गरेको छ।
चीनमा संवेदनशील तथा गोप्य सरकारी सूचनामा पहुँच भएका वरिष्ठ सरकारी अधिकारी, सरकारी स्वामित्वका संस्था तथा राज्यसँग सम्बन्धित निकायका उच्च अधिकारी यसअघि नै कडा विदेश यात्रा नियमको दायरामा छन्। उनीहरूको निजी विदेश यात्रासमेत अनुमतिमा आधारित हुने र केही अवस्थामा राहदानी व्यवस्थापन तथा विदेशी सम्पर्कमाथि अतिरिक्त निगरानी हुने गरेको छ।
सन् २०२३ मा सार्वजनिक भएका विवरणमा चिनियाँ सरकारी कर्मचारी तथा राज्यसँग आबद्ध संस्थाका कर्मचारीको निजी विदेश यात्रामा थप नियन्त्रण गरिएको र विदेशी नागरिक तथा संस्थासँगको सम्बन्धमाथि निगरानी बढाइएको उल्लेख गरिएको थियो। त्यस समय बेइजिङले विदेशी प्रभाव, जासुसी तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित जोखिमविरुद्ध अभियान तीव्र बनाएको थियो।
विदेशी सरकारहरूले पनि विभिन्न समयमा चिनियाँ अधिकारीले केही व्यक्तिलाई राष्ट्रिय सुरक्षासम्बन्धी अनुसन्धानका कारण देश छाड्न रोक लगाएको घटना सार्वजनिक गर्दै आएका छन्। यस्ता प्रतिबन्धलाई चीनले अनुसन्धान, कानुनी प्रक्रिया र राष्ट्रिय सुरक्षा संरक्षणसँग जोडेर व्याख्या गर्दै आएको छ।
यसै सन्दर्भमा अमेरिकी पक्षले ‘चीन तथा म्यान्मार मामिलाका विज्ञ’का रूपमा परिचित अमेरिकी नागरिक मिन जिनलाई चिनियाँ अधिकारीहरूले गत जुनमा नियन्त्रणमा लिएको जनाएको थियो। उनीमाथि राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको आरोप लगाइएको थियो भने अमेरिकी पक्षले उनको हिरासतप्रति आपत्ति जनाएको थियो।
नयाँ नियमले चीनको प्रवेश–निर्गमन व्यवस्थालाई केवल अध्यागमन प्रशासनको विषयमा सीमित नराखी राष्ट्रिय सुरक्षा, प्रविधि संरक्षण, संवेदनशील सूचना र विदेशी प्रभाव नियन्त्रणसँग थप स्पष्ट रूपमा जोडेको देखाएको छ।





