३० भाद्र २०८३, मंगलवार

नवौं ग्लोबल नेपाली फिल्म अवार्डको मिति परिवर्तन, अब अप्रिल १० मा सिड्नीमा हुने

ड्रागन मिडिया समाचार कक्ष

अष्ट्रेलियामा आयोजना हुन लागेको नवौं ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ को मिति परिवर्तन भएको छ। नेपालमा पछिल्लो समय उत्पन्न प्राकृतिक विपद र त्यसबाट सिर्जित असहज तथा संवेदनशील परिस्थितिका कारण पूर्वनिर्धारित मितिमा कार्यक्रम आयोजना गर्न सम्भव नभएपछि नयाँ मिति तय गरिएको आयोजकले जनाएको छ।

भारा इन्टरटेनमेन्ट अष्ट्रेलिया, नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्ड युएसएको संयुक्त आयोजनामा आगामी डिसेम्बर १७ मा अष्ट्रेलियाको सिड्नीमा कार्यक्रम आयोजना गर्ने तयारी थियो। आयोजकका अनुसार अब अवार्ड समारोह १० अप्रिल २०२७, शनिबार आयोजना हुनेछ।

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, नेपाली चलचित्रकर्मीहरूको सम्मान तथा विश्वभर छरिएर रहेका नेपाली चलचित्रप्रेमी, कलाकार र चलचित्र क्षेत्रसँग आबद्ध व्यक्तित्वलाई एउटै सांस्कृतिक मञ्चमा जोड्ने उद्देश्यले ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना हुँदै आएको छ।

आयोजक संस्थाहरूले प्राकृतिक विपदबाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति ऐक्यबद्धता प्रकट गर्दै पीडित परिवार र समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गरेका छन्। साथै उद्धार, राहत र पुनर्स्थापनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने व्यक्ति, संघसंस्था तथा सहयोगीप्रति कृतज्ञता व्यक्त गरिएको छ।

नयाँ मितिमा कार्यक्रमलाई अझ व्यवस्थित, भव्य र अन्तर्राष्ट्रियस्तरको बनाउने गरी तयारी अघि बढाइएको आयोजकले जनाएको छ। सहभागी कलाकार तथा चलचित्रकर्मी, अवार्डका विधा, मनोनयन र अन्य कार्यक्रमसम्बन्धी विस्तृत जानकारी आगामी दिनमा संयुक्त रूपमा सार्वजनिक गरिनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button