३० भाद्र २०८३, मंगलवार

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना, नेपालको कूटनीतिक पहुँच १८५ देशमा

ड्रागन मिडिया सम्वाददाता

नेपाल र माइक्रोनेसियाको सङ्घीय राज्यबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका देशको सङ्ख्या १८५ पुगेको छ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र संयुक्त राष्ट्रसङ्घका लागि माइक्रोनेसियाको सङ्घीय राज्यका स्थायी प्रतिनिधि जिम एस. लिप्पवेले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन्। संयुक्त राष्ट्रसङ्घस्थित नेपालको स्थायी नियोगका अनुसार हस्ताक्षरसँगै दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध शुरु भएको हो।

सो अवसरमा दुवै देशका स्थायी प्रतिनिधिबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा साझा चासोका विषयमा सहकार्य गर्ने सम्भावनाबारे विचार आदानप्रदान भएको थियो। संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्चमा आपसी सहयोग र समन्वयलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको जनाइएको छ।

माइक्रोनेसियाको सङ्घीय राज्य पश्चिमी प्रशान्त महासागरमा अवस्थित ६०० भन्दा बढी टापु मिलेर बनेको द्विपीय राष्ट्र हो। यसले ३ नोभेम्बर १९८६ मा स्वतन्त्र राष्ट्रका रूपमा आफ्नो वर्तमान राजनीतिक हैसियत प्राप्त गरेको थियो भने १७ सेप्टेम्बर १९९१ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको थियो। यसको कुल भूभाग करिब ७०१ वर्ग किलोमिटर छ र जनसङ्ख्या करिब एक लाख रहेको छ।

नेपाल र माइक्रोनेसिया दुवै जी ७७ तथा चीन समूहमा आबद्ध छन्। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाले विशेषगरी संयुक्त राष्ट्रसङ्घ तथा अन्य बहुपक्षीय मञ्चमा साझा हित, विकास, जलवायु परिवर्तन, साना तथा विकासशील राष्ट्रका सरोकार र दक्षिण दक्षिण सहयोगका क्षेत्रमा संवाद तथा सहकार्य विस्तार गर्ने आधार तयार गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button