बाँकेमा ६०७ हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण

ड्रागन मिडिया सम्वाददाता
बाँके जिल्लामा आर्थिक वर्ष २०८२/८३ सम्म ६०७ दशमलव ९८ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको छ। अतिक्रमित वनक्षेत्रमा करिब तीन हजार ९९० घरटहरा निर्माण भएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ।
कार्यालयका सूचना अधिकारी टंक गुरुङका अनुसार वन अतिक्रमणको ठूलो हिस्सा विगतमा बाढीबाट विस्थापित परिवारको बसोबाससँग जोडिएको छ। नरैनापुर गाउँपालिकामा मात्रै २७३ हेक्टर वनक्षेत्र अतिक्रमण गरी ९७५ घरधुरी बसोबास गरिरहेका छन्। विगतमा बाढीपीडितलाई अस्थायी बसोबासका लागि दिइएको क्षेत्र व्यवस्थित हुन नसक्दा अतिक्रमणको समस्या बढ्दै गएको हो।
विसं २०६६ तथा त्यसपछि आएका बाढीबाट प्रभावित परिवारलाई तत्कालीन अवस्थामा वनक्षेत्रमा बस्न दिइएको थियो। पछि अतिक्रमण हटाउने प्रयास गरिए पनि २०७४ सालको बाढीपछि विस्थापित परिवार पुनः सोही क्षेत्रमा फर्केर बस्न थालेको वन कार्यालयले जनाएको छ।
राप्तीसोनारी गाउँपालिकाको वडा नं. ५, ६ र ७ मा २११ हेक्टर वनक्षेत्र अतिक्रमण गरी एक हजार ९२५ घरधुरीले बसोबास तथा खेतीपाती गर्दै आएका छन्। वडा नं. २ मा ३२ दशमलव ९८ हेक्टर वनक्षेत्र अतिक्रमण गरी ६०४ घरटहरा निर्माण भएका छन् भने वडा नं. १, ३ र ४ मा ४१ हेक्टर वनक्षेत्र अतिक्रमण गरी ७२ घरधुरी बसोबास गरिरहेका छन्।
कोहलपुर नगरपालिकाका वडा नं. ७, ८ र १२ तथा बैजनाथ गाउँपालिका वडा नं. २ मा पनि वनक्षेत्र अतिक्रमण भएको छ। ती क्षेत्रमा विसं २०४४/४५ देखि २०७१/७२ सम्म गैरबाढीपीडितका २० घरटहरा निर्माण भएको भए पनि हाल नियमित बसोबास नरहेको र सात जनाले खेतीपाती गर्दै आएको जनाइएको छ।
त्यस्तै डुडुवा गाउँपालिका वडा नं. १ बाहेक अन्य वडा तथा नेपालगञ्जका विभिन्न क्षेत्रमा वनक्षेत्रमा ३९४ घरटहरा निर्माण भएको पाइएको छ। बाँकेमा देखिएको अधिकांश वन अतिक्रमण २०७५ सालअघि नै भएको डिभिजन वन कार्यालयले जनाएको छ।
डिभिजन वन कार्यालय बाँकेले वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा योजना बनाएर कारवाही अघि बढाउने जनाएको छ।





