३० भाद्र २०८३, मंगलवार

मकाओमा अक्टोबरमा १९औं आ-मा सांस्कृतिक तथा पर्यटन महोत्सव हुने

ड्रागन मिडिया समाचार कक्ष

चीनको मकाओ विशेष प्रशासनिक क्षेत्रमा आगामी अक्टोबर १२ देखि १५ सम्म १९औं आ-मा सांस्कृतिक तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ। आयोजकका अनुसार स्वदेश तथा विदेशबाट एक हजारभन्दा बढी अतिथि महोत्सवमा सहभागी हुने अपेक्षा गरिएको छ।

महोत्सव आयोजक समितिका अध्यक्ष चान मेङ कामका अनुसार चीनको ताइवान क्षेत्रसहित विभिन्न स्थानका प्रतिनिधि कार्यक्रममा सहभागी हुनेछन्। महोत्सवमा चिनियाँ समुद्री देवी माजुको सम्मानमा विशेष पूजा समारोह, माजु संस्कृतिको समकालीन महत्वबारे विचार गोष्ठी तथा पूर्वी चीनको फुच्यान प्रान्त र मकाओबीच सांस्कृतिक तथा पर्यटन सहकार्य प्रवर्द्धन गर्ने कार्यक्रम आयोजना गरिनेछ।

फुच्यानका कला समूहहरूले महोत्सवमा सांस्कृतिक प्रस्तुति दिनेछन्। परम्परागत हस्तकला प्रदर्शनी, सीप प्रदर्शन तथा उत्पादक र खरिदकर्ताबीच सम्पर्क विस्तार गर्ने व्यावसायिक गतिविधि पनि कार्यक्रमको हिस्सा रहने आयोजकले जनाएको छ।

चिनियाँ क्रान्तिकारी नेता सुन यात सेनको जन्मको १६०औं वार्षिकोत्सवका अवसरमा ताइवानबाट सहभागी अतिथिहरूले हेङछिनस्थित क्वाङतोङ-मकाओ गहन सहयोग क्षेत्र तथा चोङशानमा रहेको सुन यात सेनको पूर्वनिवाससमेत भ्रमण गर्ने कार्यक्रम छ।

माजुसम्बन्धी विश्वास र परम्परालाई सन् २००९ मा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा समावेश गरिएको थियो। समुद्री यात्रा, सुरक्षा र समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको माजु परम्परा चीनको दक्षिणपूर्वी तटीय क्षेत्रमा विशेष महत्व राख्छ।

महोत्सव मकाओस्थित गडेस आ-मा फाउन्डेसनले आयोजना गर्न लागेको हो भने मकाओ फाउन्डेसनले सहयोग गर्नेछ। आयोजकले कार्यक्रममार्फत माजु संस्कृतिको संरक्षण, सांस्कृतिक आदानप्रदान र मकाओ तथा फुच्यानबीच पर्यटन सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button