३० भाद्र २०८३, मंगलवार

चाङ’अ-६ ले ल्याएको चन्द्र नमुना चीनद्वारा संयुक्त राष्ट्रसङ्घलाई हस्तान्तरण

ड्रागन मिडिया समाचार कक्ष

चीनले चाङ’अ-६ चन्द्र अभियानमार्फत संकलन गरिएको चन्द्रमाको टाढाको भागको नमुना संयुक्त राष्ट्रसङ्घलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ। अस्ट्रियाको भियनास्थित संयुक्त राष्ट्रसङ्घ कार्यालयमा सोमबार आयोजित समारोहमा नमुना हस्तान्तरण गरिएको हो। चन्द्रमाको पृथ्वीबाट नदेखिने टाढाको भागबाट ल्याइएको नमुना संयुक्त राष्ट्रसङ्घलाई प्रदान गरिएको यो पहिलो अवसर हो।

हस्तान्तरण समारोह चीन राष्ट्रिय अन्तरिक्ष प्रशासन, भियनास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संगठनका लागि चीनको स्थायी नियोग र संयुक्त राष्ट्रसङ्घको बाह्य अन्तरिक्ष मामिला कार्यालयको संयुक्त आयोजनामा भएको थियो। कार्यक्रममा भियनास्थित अन्तर्राष्ट्रिय संगठनका प्रमुख, विभिन्न देशका स्थायी प्रतिनिधिसहित ४०० भन्दा बढी अतिथि सहभागी भएका थिए।

चीन राष्ट्रिय अन्तरिक्ष प्रशासनका प्रशासक शान चोङ्दे, भियनास्थित संयुक्त राष्ट्रसङ्घ कार्यालयकी महानिर्देशक मोनिका जुमा, संयुक्त राष्ट्रसङ्घ बाह्य अन्तरिक्ष मामिला कार्यालयकी निर्देशक आरती होला मैनी र भियनास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संगठनका लागि चीनका स्थायी प्रतिनिधि ली सोङले संयुक्त रूपमा चन्द्र नमुनाको अनावरण गरेका थिए। उक्त नमुना अब भियनास्थित संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा स्थायी रूपमा प्रदर्शनीमा राखिनेछ।

समारोहमा शान चोङ्देले विशाल ब्रह्माण्डको अन्वेषण मानवजातिको साझा सपना र निरन्तर खोज भएको बताए। उनले चिनियाँ राष्ट्रपति सी चिनफिङले चाङ’अ चन्द्र अभियान चीनको मात्र नभई विश्वका सबै जनताको साझा उपलब्धि भएको उल्लेख गर्दै आएको स्मरण गरे।

उनका अनुसार चाङ’अ-६ ले संकलन गरेको नमुना संयुक्त राष्ट्रसङ्घलाई हस्तान्तरण गर्नु अन्तरिक्ष उपलब्धिलाई विश्व समुदायसँग साझा गर्ने चीनको प्रतिबद्धताको व्यावहारिक अभिव्यक्ति हो। चीनले साँचो बहुपक्षीयता, संयुक्त राष्ट्रसङ्घको भूमिका तथा बाह्य अन्तरिक्षको शान्तिपूर्ण प्रयोगसम्बन्धी विश्वव्यापी सहकार्यलाई समर्थन गर्दै अन्तरिक्ष विज्ञान र प्रविधिका उपलब्धि सबै देशका जनताले लाभ लिन सक्ने गरी साझा गर्न चाहेको उनले बताए।

भियनास्थित संयुक्त राष्ट्रसङ्घ कार्यालयकी महानिर्देशक मोनिका जुमाले भियना विज्ञान र कूटनीतिलाई जोड्ने विशिष्ट बहुपक्षीय केन्द्र भएको बताइन्। चन्द्र नमुनाको स्थायी प्रदर्शनीले मानव वैज्ञानिक तथा प्राविधिक सिर्जनशीलता र ब्रह्माण्ड अन्वेषण गर्ने दृढ संकल्पलाई प्रतिनिधित्व गर्ने उल्लेख गर्दै उनले यसलाई साझा चुनौती समाधानमा संयुक्त राष्ट्रसङ्घप्रति चीनको समर्थनको संकेतका रूपमा समेत व्याख्या गरिन्।

संयुक्त राष्ट्रसङ्घ बाह्य अन्तरिक्ष मामिला कार्यालयकी निर्देशक आरती होला मैनीले चन्द्र नमुना र वैज्ञानिक अनुसन्धान तथ्याङ्क साझा गर्ने चीनको कदमले बाह्य अन्तरिक्ष सम्पूर्ण मानवजातिको साझा क्षेत्र भएको अवधारणालाई स्पष्ट रूपमा प्रस्तुत गरेको बताइन्। उनले यो नमुनाले भियनामा मानवजातिको चन्द्र अन्वेषणको कथा निरन्तर सुनाउँदै बाह्य अन्तरिक्षको विश्वव्यापी शासनलाई अघि बढाउन योगदान दिने विश्वास व्यक्त गरिन्।

चीनका स्थायी प्रतिनिधि ली सोङले नमुना हस्तान्तरण कार्यक्रम संयुक्त राष्ट्रसङ्घको भूमिका सुदृढ गर्ने, बाह्य अन्तरिक्षको विश्वव्यापी शासन सुधार गर्ने तथा अन्तरिक्ष अन्वेषण र विकासबाट प्राप्त लाभ सम्पूर्ण मानवजातिसम्म पुर्‍याउने चीनको प्रतिबद्धताको प्रतीक भएको बताए।

चाङ’अ-६ अभियानले चन्द्रमाको टाढाको भागबाट नमुना पृथ्वीमा ल्याएर अन्तरिक्ष अन्वेषणमा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो। उक्त नमुनाको संयुक्त राष्ट्रसङ्घमा स्थायी प्रदर्शनले वैज्ञानिक अनुसन्धानसँगै अन्तर्राष्ट्रिय सहकार्य, शान्तिपूर्ण अन्तरिक्ष अन्वेषण र मानवजातिको साझा वैज्ञानिक सम्पदाको अवधारणालाई थप बल पुर्‍याउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button