३० भाद्र २०८३, मंगलवार

चीनको लगानी संरचना नवप्रवर्तन र उच्च गुणस्तरीय विकासतर्फ रूपान्तरण


ड्रागन मिडिया समाचार कक्ष

चीनको स्थिर सम्पत्ति लगानी समग्र रूपमा घटे पनि लगानी संरचना तीव्र रूपमा नवप्रवर्तन, उन्नत उत्पादन, डिजिटल अर्थतन्त्र तथा हरित विकासतर्फ सर्दै गएको छ। चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार सन् २०२६ का पहिलो आठ महिनामा स्थिर सम्पत्ति लगानी करिब २९ दशमलव ३ ट्रिलियन युआन पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७ दशमलव २ प्रतिशत कम हो।

घरजग्गा क्षेत्रबाहेक स्थिर सम्पत्ति लगानी ४ दशमलव २ प्रतिशतले घटेको छ। क्षेत्रगत रूपमा प्राथमिक उद्योगमा लगानी २ दशमलव ४ प्रतिशत, द्वितीयक उद्योगमा २ दशमलव ९ प्रतिशत र तृतीयक उद्योगमा ९ दशमलव ९ प्रतिशतले घटेको छ। पूर्वाधारमा लगानी ४ प्रतिशत, उत्पादन क्षेत्रमा २ दशमलव ३ प्रतिशत र घरजग्गा विकासमा १९ दशमलव ९ प्रतिशत गिरावट आएको छ।

पहिलो आठ महिनामा निजी लगानी १० दशमलव १ प्रतिशतले घटेको छ। घरजग्गा विकासलाई बाहिर राख्दा निजी लगानीको गिरावट ६ दशमलव ४ प्रतिशत रहेको छ। अगस्ट महिनामा मात्रै स्थिर सम्पत्ति लगानी अघिल्लो महिनाको तुलनामा शून्य दशमलव ५ प्रतिशतले घटेको राष्ट्रिय तथ्याङ्क ब्युरोले जनाएको छ।

ब्युरोका प्रवक्ता वाङ कुआनह्वाका अनुसार गर्मीको लहर, आँधी र बाढीजस्ता चरम मौसमी घटनाले केही क्षेत्रमा परियोजना निर्माण प्रभावित गरेका छन्। साथै जटिल अन्तर्राष्ट्रिय परिस्थिति, बढ्दो अनिश्चितता तथा घरेलु अर्थतन्त्रमा पुराना र नयाँ वृद्धि शक्तिबीच भइरहेको संक्रमणका कारण उद्यमहरूले लगानी निर्णयमा थप सावधानी अपनाएका छन्।

यद्यपि पहिलो आठ महिनाको स्थिर सम्पत्ति लगानी करिब ३० ट्रिलियन युआनको उच्च स्तरमै रहेको उल्लेख गर्दै वाङले यसको संरचना र गुणस्तरमा महत्वपूर्ण परिवर्तन देखिएको बताए। उनका अनुसार लगानी अब केवल परिमाण विस्तारमा केन्द्रित नभई प्राविधिक नवप्रवर्तन, औद्योगिक स्तरोन्नति र आधारभूत क्षमता सुदृढीकरणतर्फ सरेको छ।

अनुसन्धान, विकास र बौद्धिक सम्पत्तिसम्बन्धी क्षेत्रमा लगानी तीव्र भएको छ। पहिलो आठ महिनामा बौद्धिक सम्पत्ति उत्पादनमा लगानी ९ दशमलव २ प्रतिशतले बढेको छ। यस्तो लगानी कुल लगानीको १५ दशमलव २ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २ दशमलव ३ प्रतिशत बिन्दुले बढी हो।

उच्च प्रविधियुक्त उद्योगमा लगानी ५ दशमलव २ प्रतिशतले बढेको छ। सूचना सेवा उद्योगमा लगानी २२ दशमलव ७ प्रतिशत, हवाई तथा अन्तरिक्ष यान निर्माणमा १४ दशमलव ९ प्रतिशत र विद्युतीय तथा सञ्चार उपकरण उत्पादनमा ६ दशमलव ९ प्रतिशत वृद्धि भएको छ।

उन्नत उत्पादन, डिजिटल अर्थतन्त्र तथा हरित र न्यून कार्बन उद्योगतर्फ पनि पूँजी प्रवाह बढेको छ। विद्युतीय विशेष सामग्री उत्पादनमा लगानी ८ दशमलव ५ प्रतिशत र एकीकृत सर्किट उत्पादनमा १२ प्रतिशतले वृद्धि भएको छ। नयाँ ऊर्जा सवारी उद्योगको विकास तथा ऊर्जा भण्डारणको बढ्दो मागका कारण लिथियम आयन ब्याट्री उत्पादनमा लगानी २० दशमलव ६ प्रतिशतले बढेको छ।

ठूला उपकरण नवीकरण नीतिको प्रभाव पनि स्पष्ट देखिएको छ। उपकरण खरिदमा लगानी पहिलो आठ महिनामा ९ दशमलव ३ प्रतिशतले बढेको छ र कुल लगानीमा यसको हिस्सा १९ दशमलव ५ प्रतिशत पुगेको छ। यसले उद्यमहरू पुराना उपकरण विस्थापन, उत्पादन प्रविधि सुधार र औद्योगिक रूपान्तरणमा सक्रिय भइरहेको संकेत गरेको छ।

चीनको ‘छ सञ्जाल’ पहलसँग सम्बन्धित इन्टरनेट तथा सहायक सेवामा लगानी ४२ प्रतिशतले बढेको छ। यस पहलअन्तर्गत जल सञ्जाल, नयाँ प्रकारका विद्युत सञ्जाल, कम्प्युटिङ क्षमता सञ्जाल, नयाँ पुस्ताको सञ्चार सञ्जाल, शहरी भूमिगत पाइपलाइन सञ्जाल तथा ढुवानी सञ्जाल समेटिएका छन्।

केन्द्रीय सरकारले बजेटअन्तर्गत अधिकांश लगानी विनियोजन गरिसकेको छ भने स्थानीय सरकारका विशेष ऋणपत्रको निष्कासन तथा प्रयोग पनि तीव्र बनाइएको छ। नयाँ नीतिगत वित्तीय साधनबाट प्राप्त रकमसमेत शीघ्र परिचालन गरिने जनाइएको छ।

राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार समन्वित नीतिगत प्रयासले लगानीको थप सम्भावना खुला गर्नेछ। समग्र लगानीमा गिरावट देखिए पनि नवप्रवर्तन, उच्च प्रविधि, ऊर्जा रूपान्तरण र आधारभूत सञ्जालमा भइरहेको तीव्र वृद्धि चीनको अर्थतन्त्र परिमाणमा आधारित विस्तारबाट उच्च गुणस्तरीय तथा प्रविधि केन्द्रित विकासतर्फ रूपान्तरण भइरहेको संकेतका रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button