३० भाद्र २०८३, मंगलवार

गृहमन्त्री गुरुङमाथिको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केरुङको माग

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले गृहमन्त्री गुरुङको सम्पत्ति, शेयर लगानी तथा विवादित व्यवसायीसँगको सम्बन्धबारे उठेका प्रश्नको छानबिन गर्न सरकारले गठन गरेको समितिको प्रतिवेदन संसद् र जनतासामु सार्वजनिक गर्नुपर्ने बताए।

स्वार्थको द्वन्द्व नहोस् र आफूविरुद्ध निष्पक्ष छानबिन होस् भन्दै गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

सांसद केरुङका अनुसार समितिले गुरुङको सम्पत्ति, आम्दानीको स्रोत, ऋण, शेयर लगानी र बैंक मौज्दातलगायत विषय अध्ययन गरी ४५ पृष्ठको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ। तर उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरिएकोमा उनले आपत्ति जनाए।

प्रतिवेदन सार्वजनिक नगरी गुरुङलाई पुनः मन्त्री नियुक्त गरिएको भन्दै केरुङले सरकारको पारदर्शिता र सुशासनमाथि प्रश्न उठेको बताए। सरकारले प्रतिवेदनका आधारमा गुरुङलाई निर्दोष ठहर गरेको हो भने त्यसको आधार, प्रमाण र बयानसमेत सार्वजनिक गर्नुपर्ने उनको माग छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button