पेट्रोलियम पदार्थको मूल्य यथावत, नेपाल आयल निगमलाई पाक्षिक १ अर्ब ९१ करोडभन्दा बढी घाटा

ड्रागन मिडिया सम्वाददाता
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि तत्काल खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ। भोटेकोशी नदीमा आएको असाधारण बाढीका कारण सिर्जित कठिन परिस्थिति र उपभोक्तामाथि थप भार नपरोस् भन्ने उद्देश्यले भदौ ३१ गतेदेखि साविककै मूल्य कायम राख्ने निर्णय गरिएको निगमले जनाएको छ।
भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको लागत प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलको प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा बढेको छ। मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उतारचढाव भइरहे पनि निगमले हाललाई उपभोक्ता मूल्य समायोजन नगर्ने निर्णय गरेको हो।
नयाँ निर्णयअनुसार पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम रहनेछ। पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल पर्छन्।
आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ र काठमाडौँमा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ हजार ६९७ अमेरिकी डलर कायम गरिएको छ। १४.२ किलोग्रामको एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै रहनेछ।
खरिद मूल्य बढे पनि खुद्रा बिक्री मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।





