३१ भाद्र २०८३, बुधबार

डोना हिमतालको जोखिमले मर्स्याङ्दी तटीय क्षेत्रमा चिन्ता, पूर्वसूचना प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता

ड्रागन मिडिया सम्वाददाता

मनाङको डोना अर्थात थुलागी हिमतालमा देखिएको सम्भावित जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाप्रति चिन्ता बढाएको छ। हिमताल विस्फोट भएर आकस्मिक ठूलो बाढी आएमा त्यसको प्रभाव मनाङबाट मर्स्याङ्दी नदी हुँदै लमजुङ, गोरखा र तनहुँसम्म पुग्न सक्ने भएकाले नियमित अनुगमन, जोखिम पुनःमूल्याङ्कन, पूर्वसूचना प्रणाली र विपद प्रतिकार्य तयारीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

मनाङको नासो गाउँपालिका–२ मा रहेको डोना हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको छ। विभिन्न अध्ययनले तालको क्षेत्रफल करिब ०.९ वर्गकिलोमिटर रहेको र सन् २०१७ को सर्वेक्षणमा अधिकतम गहिराइ ७६ मिटर मापन गरिएको देखाएका छन्। ती अध्ययन पुराना भइसकेकाले तालको क्षेत्रफल, पानीको मात्रा, हिमनदीको अवस्था र वरपरको भौगोलिक संरचनामा आएको परिवर्तनबारे नयाँ स्थलगत अध्ययन आवश्यक देखिएको छ।

नासो गाउँपालिका–२ का वडाध्यक्ष रवि गुरुङले ताल जोखिमयुक्त अवस्थामा रहे पनि तत्कालै केही हुने अवस्था नदेखिएको बताएका छन्। उनका अनुसार तालको आकार विगतको तुलनामा परिवर्तन हुँदै विस्तार भइरहेको छ। जोखिम न्यूनीकरणका लागि स्थानीय तहले पहल गरिरहेको भए पनि आवश्यक संरक्षण कार्यका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले प्रदेश र सङ्घीय सरकारसँग सहयोग मागिएको छ।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले ताल तत्काल फुट्छ भन्न नसकिने भए पनि जोखिम पूर्ण रूपमा अस्वीकार गर्न नसकिने बताएका छन्। ताल क्षेत्रमा बालुवा तथा माटो थुप्रिँदै गएको भन्दै उनले ठूलो आयामको हिमताल विस्फोटजन्य बाढी आएमा जिल्लाको वर्तमान स्रोतसाधनबाट सामना गर्न कठिन हुन सक्ने बताए। जोखिम न्यूनीकरणका लागि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग आवश्यक पहल गरिएको छ।

सम्भावित बाढीले मनाङका बस्ती मात्र नभई मर्स्याङ्दी करिडोरका सडक, पुल, जलविद्युत आयोजना र अन्य महत्वपूर्ण पूर्वाधारमा समेत क्षति पुर्‍याउन सक्ने जोखिम छ। लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार सुन्दरबजार आसपासका तल्लो भूभाग, बेँसीसहरका केही क्षेत्र र मर्स्याङ्दी करिडोरका जलविद्युत आयोजनासमेत प्रभावित हुन सक्छन्।

विज्ञहरूले जोखिमयुक्त हिमतालको दुईदेखि तीन वर्षको अन्तरालमा स्थलगत अनुगमन गर्नुपर्ने बताएका छन्। नियमित अध्ययन, सम्भावित बाढी बहाव क्षेत्रको पहिचान, प्रभावकारी पूर्वसूचना प्रणाली तथा स्थानीय तह र सुरक्षा निकायबीच समन्वय बढाउन सके मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सकिने देखिएको छ। डोना हिमतालको जोखिमलाई माथिल्लो हिमाली क्षेत्रको मात्र समस्या नठानी समग्र मर्स्याङ्दी तटीय क्षेत्रको विपद व्यवस्थापन योजनासँग जोडेर हेर्नुपर्ने आवश्यकता बढेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button