मुगुमा लगातार दुई भूकम्प, कलाई क्षेत्र केन्द्रबिन्दु

ड्रागन मिडिया सम्वाददाता
मुगु जिल्लाको कलाई क्षेत्र केन्द्रबिन्दु भएर बुधबार बिहान केही घण्टाको अन्तरालमा दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान १ बजेर ५१ मिनेटमा गएको थियो, जसको मापन ४.५ म्याग्निच्युड गरिएको छ।
त्यसको करिब साढे दुई घण्टापछि बिहान ४ बजेर २८ मिनेटमा कलाई आसपास नै केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको छ। लगातार दुई पटक भूकम्प महसुस भए पनि तत्काल कुनै मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन।
यसअघि भदौ २६ गते जाजरकोट जिल्लाको कालसेनी आसपास केन्द्रबिन्दु भएर बिहान ९ बजेर ८ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।





