अन्तर्राष्ट्रिय कानुनी संयन्त्र राजनीतिक उद्देश्यका लागि दुरुपयोग भएको लाभरोभको आरोप

ड्रागन मिडिया समाचार कक्ष
रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले पश्चिमी मुलुकहरूले अन्तर्राष्ट्रिय न्यायिक तथा अर्धन्यायिक संयन्त्रलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरिरहेको आरोप लगाएका छन्। सेप्टेम्बर १५ मा मस्कोमा आयोजित ‘युक्रेनी संकट : पश्चिमको कानुनी आक्रमण’ विषयक गोलमेच छलफलमा उनले रुसविरुद्ध अन्तर्राष्ट्रिय अदालत र मध्यस्थता निकायमा अघि बढाइएका धेरै मुद्दाको तथ्यगत तथा कानुनी आधार कमजोर रहेको दाबी गरे।
रुसी विदेश मन्त्रालयका अनुसार उक्त कार्यक्रममा मस्कोस्थित विभिन्न देशका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संस्थाका करिब १०० प्रमुख सहभागी थिए। लाभरोभले आफ्नो सम्बोधनमा पश्चिमी मुलुकहरूले अन्तर्राष्ट्रिय कानुनका स्थापित मान्यताको राजनीतिक व्याख्या गर्दै कानुनी संयन्त्रमार्फत रुसमाथि दबाब सिर्जना गर्ने प्रयास गरिरहेको आरोप लगाए।
उनले रुसविरुद्ध दायर गरिएका धेरै मुद्दाको उद्देश्य कानुनी न्यायभन्दा रुसको अन्तर्राष्ट्रिय प्रतिष्ठामा क्षति पुर्याउनु र पश्चिमी मुलुकका कदमलाई वैधता दिनु रहेको दाबी गरे। रुसले केही अन्तर्राष्ट्रिय कानुनी प्रक्रियामा आफ्नो पक्षमा निर्णय प्राप्त गरिसकेको उल्लेख गर्दै उनले मस्कोले भविष्यमा पनि कानुनी माध्यमबाट आफ्नो हितको रक्षा गर्ने बताए।
अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीप्रति कडा आलोचना गर्दै लाभरोभले उक्त संस्थामाथि दोहोरो मापदण्ड र राजनीतिक रूपमा प्रेरित निर्णय गरेको आरोप लगाए। उनले आईसीसीबाट अलग हुने निर्णय गरेका देशहरूको उदाहरण उल्लेख गर्दै अन्य मुलुकलाई पनि अदालतको भूमिकाबारे पुनर्विचार गर्न आग्रह गरे। आईसीसीले भने आफ्नो अनुसन्धान र अभियोजन स्वतन्त्र तथा रोम विधानअनुसार सञ्चालन हुने बताउँदै आएको छ।
लाभरोभले रुसलाई जवाफदेही बनाउने उद्देश्यसहित सहमतिबिना अघि सारिएका अन्य अन्तर्राष्ट्रिय पहललाई समेत कानुनी वैधता नभएको दाबी गरे। उनका अनुसार रुसले यो ‘कानुनी युद्ध’ शुरु नगरे पनि अब प्रतिरक्षात्मक भूमिकामा मात्र सीमित नहुने र अन्तर्राष्ट्रिय दायित्व उल्लङ्घन गरेको ठानिएका राज्यविरुद्ध आफ्नै कानुनी दाबी अघि बढाउने तयारी गर्नेछ।
युक्रेनसम्बन्धी संघर्षको समाधानका लागि त्यसका मूल कारण सम्बोधन गर्नुपर्ने रुसको पुरानो धारणा पनि लाभरोभले दोहोर्याए। मस्कोले नेटो विस्तार, युक्रेनको सुरक्षा संरचना र रुसीभाषी समुदायको अवस्थालाई संघर्षका मूल कारणमध्ये मान्दै आएको छ। पश्चिमी देश र युक्रेनले भने रुसको सैन्य कारवाहीलाई अन्तर्राष्ट्रिय कानुन र युक्रेनको सार्वभौमिकतामाथिको उल्लङ्घनका रूपमा प्रस्तुत गर्दै आएका छन्।
गोलमेच छलफलमा सहभागी कूटनीतिज्ञ तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिबीच युक्रेन संकटसहित अन्य अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको रुसी विदेश मन्त्रालयले जनाएको छ। सहभागीहरूले युक्रेनसम्बन्धी राजदूतस्तरीय गोलमेचमार्फत छलफललाई निरन्तरता दिने तयारीसमेत जनाएका छन्।





