चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा उद्धार टोली १५० मिटरभित्र पुग्यो

ड्रागन मिडिया सम्वाददाता
रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोज तथा उद्धारमा खटिएको टोली १५० मिटरभित्र पुग्न सफल भएको छ। सुरुङको माथिल्लो भागमा जमेको लेदो पन्छाउँदै टोली क्रमशः भित्री भागतर्फ अघि बढिरहेको छ।
उद्धार टोलीले माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा प्रयोग गरिएको जस्तै वाटर जेट प्रविधिबाट लेदो हटाइरहेको छ। चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना नागरिक फसेको अनुमान गरिएको छ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको थियो। बाढीपछि १२ वटा जलविद्युत् आयोजनाका सुरुङमा नागरिकहरू फसेका थिए।
उद्धार टोलीले सुरुङभित्रको अवरोध हटाउँदै खोजी कार्यलाई निरन्तरता दिएको छ। कठिन भौगोलिक अवस्था, ठूलो परिमाणमा थुप्रिएको लेदो र सीमित पहुँचका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।





