३१ भाद्र २०८३, बुधबार

सिनिङमा समकालीन तिब्बती साहित्यबारे राष्ट्रिय शैक्षिक सम्मेलन, सातौँ तिब्बती लघुकथा प्रतियोगिताका विजेता सम्मानित

ड्रागन मिडिया समाचार कक्ष

चीनको छिङहाइ प्रान्तको सिनिङ शहरमा समकालीन तिब्बती साहित्यको अध्ययन तथा अनुसन्धानसम्बन्धी राष्ट्रिय शैक्षिक सम्मेलनसँगै सातौँ राष्ट्रिय तिब्बती लघुकथा प्रतियोगिताको पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। सेप्टेम्बर १२ मा आयोजित कार्यक्रम छिङहाइ मिन्जु विश्वविद्यालय र विश्वविद्यालयअन्तर्गतको तिब्बती अध्ययन प्रतिष्ठानको मुख्य आयोजनामा तथा छिङहाइ तिब्बती भाषा समाचारपत्र कार्यालयको सहआयोजनामा सम्पन्न भएको हो।

‘नयाँ मानविकीको पृष्ठभूमिमा समकालीन तिब्बती साहित्यको अध्ययन’ विषयमा केन्द्रित सम्मेलनमा सिचुआन, छिङहाइ, सिचाङ, कान्सुलगायत विभिन्न क्षेत्रका सम्बन्धित निकायका प्रतिनिधि, विश्वविद्यालयका प्राध्यापक, साहित्य तथा भाषा अनुसन्धानकर्ता, विद्यावारिधि तथा स्नातकोत्तर विद्यार्थी र सञ्चार क्षेत्रका प्रतिनिधिसहित एक सयभन्दा बढी सहभागी उपस्थित थिए। सम्मेलनमा नयाँ शैक्षिक परिवेशमा तिब्बती साहित्यको विकास, अनुसन्धान पद्धति, साहित्यिक प्रवृत्ति र समकालीन सिर्जनाको अध्ययनबारे विस्तृत छलफल भएको थियो।

कार्यक्रमसँगै सातौँ राष्ट्रिय तिब्बती लघुकथा प्रतियोगितामा उत्कृष्ट ठहरिएका सिर्जनाकारलाई पुरस्कार प्रदान गरिएको थियो। सिचाङको सिगात्से शहरका नाम्खा ताशीको ‘चरा र जोल्मो’ शीर्षकको कृतिले प्रथम पुरस्कार प्राप्त गरेको छ।

दोस्रो पुरस्कार दुई कृतिले प्राप्त गरेका छन्। सिचाङको ल्हासा शहरका ङोद्रुब दोर्जेको ‘आकाशतर्फ तानिएको सेतो प्रकाश’ र छाम्दो शहरका लाकोरको ‘तारा’ शीर्षकको कृतिले दोस्रो पुरस्कार प्राप्त गरेका हुन्।

तेस्रो पुरस्कार तीन कृतिलाई प्रदान गरिएको छ। सिचाङको नाग्छु शहरका देन्द्रुबको ‘सुगा’, सिचुआन प्रान्तको कार्जे क्षेत्रका लेखक छोयिङ ग्यात्सोको ‘मानव होइन’ तथा जोगु तेन्जिन त्रिन्लेको ‘टाउकोको टोपीमा सिङजस्ता कुनाहरू छन्’ शीर्षकका कृतिले तेस्रो पुरस्कार प्राप्त गरेका छन्।

आयोजकका अनुसार सम्मेलनले नयाँ शैक्षिक तथा अनुसन्धान परिवेशमा समकालीन तिब्बती साहित्यको अध्ययनलाई थप विस्तार गर्ने, विभिन्न क्षेत्रका अनुसन्धानकर्ता र स्रष्टाबीच शैक्षिक आदानप्रदान बढाउने तथा नयाँ पुस्ताका साहित्यकारलाई सिर्जनात्मक लेखनमा प्रोत्साहित गर्ने उद्देश्य राखेको थियो। राष्ट्रिय लघुकथा प्रतियोगितालाई पनि तिब्बती भाषाको साहित्यिक सिर्जना, नयाँ लेखकको पहिचान र समकालीन साहित्यको विकासलाई अघि बढाउने महत्वपूर्ण मञ्चका रूपमा लिइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button