साइबेरियामा भालुको आक्रमण बढ्दै, सेप्टेम्बरमै क्रास्नोयार्स्कमा ६० भालु नियन्त्रण

ड्रागन मिडिया समाचार कक्ष
रुसको क्रास्नोयार्स्क क्षेत्रको उत्तरी भागमा मानव बस्ती आसपास देखिएका ६० भालुलाई सेप्टेम्बर महिनामा नियन्त्रण गरी मारिएको स्थानीय प्रशासनले जनाएको छ। बस्ती नजिक भालुको गतिविधि बढेपछि मानिसको सुरक्षालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको हो।
पछिल्लो एक महिनामा साइबेरियाका विभिन्न क्षेत्रमा भालुको आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। तीमध्ये तीन जनाको मृत्यु उत्तरी क्रास्नोयार्स्क क्षेत्रमा भएको जनाइएको छ।
स्थानीय प्रशासनले बस्ती आसपास बारम्बार भालु देखिन थालेपछि निगरानी र नियन्त्रण अभियान तीव्र बनाएको छ। विशेष गरी खाद्य स्रोतको खोजीमा जंगली जनावर मानव बस्तीतर्फ आउँदा आक्रमणको जोखिम बढ्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
अधिकारीहरूले मानव बस्ती र वन्यजन्तुबीचको दूरी कायम गर्न, फोहोर तथा खाद्य वस्तु खुला स्थानमा नराख्न र भालु देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी दिन आग्रह गरेका छन्।





