जेन-जी आन्दोलनका घाइते बिर्तामोडमा आमरण अनशनमा

ड्रागन मिडिया सम्वाददाता
झापाको बिर्तामोडमा जेन-जी आन्दोलनका घाइतेले उपचार, क्षतिपूर्ति र दीर्घकालीन जीवनयापनको व्यवस्था माग गर्दै आमरण अनशन शुरु गरेका छन्। आन्दोलनका क्रममा पेटमा गोली लागेका अर्जुनधारा नगरपालिका–६ का विवेक दनुवारले अनशन शुरु गरेका हुन्। उनको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जेन-जी आन्दोलनका अन्य घाइते पनि सहभागी भएका छन्।
अनशनरत दनुवारले आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र गुणस्तरीय उपचार सुनिश्चित गर्न तथा हालसम्म उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यले बेहोर्न माग गरेका छन्। घाइतेको अवस्थाअनुसार उचित क्षतिपूर्ति उपलब्ध गराउन र गम्भीर तथा दीर्घकालीन असर भोगिरहेका व्यक्तिका लागि जीवनयापनको स्थायी व्यवस्था गर्नुपर्ने माग पनि अघि सारिएको छ।
अनशनकारीहरूले घाइते तथा उनीहरूका परिवारसँगै सहिद परिवारका सदस्यलाई निःशुल्क शिक्षाको व्यवस्था गर्न, सार्वजनिक यातायातमा घाइतेलाई विशेष छुट दिन तथा घाइते र सहिद परिवारका अधिकार तथा सुविधालाई व्यवस्थित गर्न छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने माग राखेका छन्। राज्यले तत्कालीन उपचारमा मात्र नभई आन्दोलनका कारण परेको दीर्घकालीन सामाजिक र आर्थिक असरलाई समेत सम्बोधन गर्नुपर्ने उनीहरूको भनाइ छ।
उनीहरूले जेन-जी आन्दोलनबाट उठेका मुद्दा र आन्दोलनमा घाइते भएकाहरूको योगदानलाई राजनीतिक सत्ता निर्माणमा मात्र सीमित गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। आन्दोलनपछि सरकार र सम्बन्धित निकायले गरेका प्रतिबद्धता कार्यान्वयनमा पर्याप्त प्रगति नभएको भन्दै उनीहरूले घाइते र सहिद परिवारका मागलाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरेका छन्।
अनशनकारी पक्षका अनुसार झापामा जेन-जी आन्दोलनका क्रममा एक सयभन्दा बढी व्यक्ति घाइते भएका थिए। तर हालसम्म ४३ जनाले मात्र आधिकारिक घाइते परिचयपत्र प्राप्त गरेको उनीहरूको दाबी छ। परिचयपत्र नपाएका घाइतेले उपचार, राहत तथा राज्यबाट उपलब्ध हुने अन्य सुविधामा समस्या भोगिरहेको भन्दै उनीहरूले सबै वास्तविक घाइतेको पहिचान र प्रमाणीकरण प्रक्रिया शीघ्र पूरा गर्न माग गरेका छन्।





