३१ भाद्र २०८३, बुधबार

प्रधानमन्त्रीको कार्यशैलीप्रति गगन थापाको प्रश्न, संसदको गरिमा कायम राख्न आग्रह

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहको संसदप्रतिको कार्यशैलीप्रति प्रश्न उठाउँदै संसद र संसदीय समितिको गरिमा कायम राख्न आग्रह गरेका छन्। सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीबाट संसदलाई पर्याप्त महत्व नदिएको जस्तो व्यवहार देखिएको टिप्पणी गरे।

थापाले विपदको घडीमा सरकारलाई बिनाशर्त सहयोग गर्न सबै दल तयार रहेको स्पष्ट पारे। उनले सर्वदलीय संसदीय संयन्त्रमार्फत विपदपछिको खोज, उद्धार, राहत, पुनर्निर्माण र पुनर्स्थापनाका विषयलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने धारणा राखे।

उनले दलहरूले मेहनत गरेर संसदीय समिति गठन गर्ने र त्यसले प्रतिवेदन तयार गर्ने तर प्रधानमन्त्री स्वयंले त्यसलाई सामान्य छलफलमा समेत रुचि नदेखाउने अवस्था आउन नहुने बताए। प्रधानमन्त्रीलाई शुरुदेखि नै संसदीय प्रक्रियाबारे जानकारी गराउन र बन्ने संयन्त्रको कामलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने विषयमा सत्तापक्षका नेताहरूको ध्यानाकर्षण गराइएको उनको भनाइ थियो।

थापाले संसदप्रति प्रधानमन्त्रीको रवैयाबारे पनि प्रश्न उठाए। प्रमुख प्रतिपक्षी दलका नेताले संसदमा बोल्दा समेत प्रधानमन्त्रीको उपस्थिति नदेखिएको उल्लेख गर्दै उनले संसदलाई बेवास्ता गर्ने प्रवृत्ति उपयुक्त नहुने बताए। संसदीय समिति बनाएर जिम्मेवारी दिने तर त्यसको प्रतिवेदन र सिफारिसलाई कार्यकारी नेतृत्वले महत्व नदिने अवस्था आए समितिको औचित्यमै प्रश्न उठ्न सक्ने उनको तर्क थियो।

उनले सर्वदलीय बैठक बोलाइएकोप्रति धन्यवाद व्यक्त गर्दै सरकारको नेतृत्व गरिरहेको दलले पनि प्रधानमन्त्रीबाट संसदीय संयन्त्रको मान र मर्यादा कायम हुने सुनिश्चित गर्नुपर्ने बताए। बैठकले प्रस्तावित सर्वदलीय संसदीय संयन्त्रको प्रक्रिया तत्काल अघि बढाउन सभामुखसँग आग्रह गर्ने निर्णय गरेको थापाले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button