चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीन शव फेला

ड्रागन मिडिया सम्वाददाता
रसुवामा आएको बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारमा जुटेको टोलीले बुधबार तीनवटा शव फेला पारेको छ। नेपाली सेनाका अनुसार विदेशी विशेषज्ञसहितको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङको अन्तिम किनारासम्म पुगेर खोजी गर्दा शव फेला पारेको हो।


सेनाले हेलिकप्टरमार्फत स्याफ्रूबेसीमा पुर्याइएको एक्साभेटर र लोडर प्रयोग गरी चट्टान फोर्दै करिब एक हजार ५० मिटर बाटो निर्माण गरेर उद्धार उपकरण सुरुङसम्म पुर्याइएको जनाएको छ। त्यसपछि सुरुङभित्र जमेको लेदो हटाउँदै खोजी र पहुँच विस्तारको काम अघि बढाइएको थियो।
लेदो हटाउने क्रममा सुरुङको प्रवेश क्षेत्रबाट करिब ७० मिटर भित्र पानी निस्किरहेको एउटा प्वाल फेला परेको थियो। सोही प्वालबाट उद्धार टोली प्रवेश गरी करिब १३० मिटरसम्म खोजी गर्दा पानीको सतह सुरुङको माथिल्लो भागसम्म पुगेको पाइएपछि एक्साभेटर प्रयोग गरेर थप अघि बढ्न नसकिने अवस्था सिर्जना भएको थियो।



त्यसपछि बुधबार गोताखोरसहितको विशेष टोली सोही प्वालबाट सुरुङभित्र प्रवेश गरेको थियो। टोलीले सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा तीनवटा शव फेला पारेको सेनाले जनाएको छ। फेला परेका शवमध्ये दुईवटा बाहिर निकालिएको छ भने बाँकी एक शव निकाल्ने काम जारी छ।
सेनाका अनुसार सुरुङभित्र जमेको लेदो क्रमशः हटाउँदै आवश्यक स्थानमा ब्रेकथ्रु गरेर खोज तथा उद्धार कार्य अघि बढाइएको हो। सुरुङभित्र पानी, लेदो र अवरुद्ध संरचनाका कारण उद्धार कार्य अत्यन्त जटिल बनेको छ।





