‘वैदेशिक सहयोग अस्वीकार गरेर सरकारले अहंकार देखायो’ : सांसद घिमिरे

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीका बेला वैदेशिक सहयोग अस्वीकार गरेर सरकारले अहंकार देखाएको आरोप लगाएका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै उनले विपदको घडीमा मित्रराष्ट्रहरूले प्रस्ताव गरेको उद्धार तथा राहत सहयोग स्वीकार नगर्दा मानवीय क्षति बढेको दाबी गरे।
घिमिरेले बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको खोजी तीव्र बनाउन सरकारसँग माग गरे। बाढीका कारण बाबुआमा तथा परिवारका सदस्य गुमाएर असहाय बनेका बालबालिकाको बसोबास, शिक्षा र संरक्षणको सम्पूर्ण जिम्मेवारी राज्यले अभिभावकका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
विपदको समयमा प्रधानमन्त्रीले स्वयं सर्वदलीय बैठक बोलाएर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा सत्तारूढ दलका सभापतिले बैठक आह्वान गरेको भन्दै उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाए। सरकार सत्तारूढ दलको नेतृत्व र नियन्त्रणमा छ कि छैन भन्ने प्रश्न गर्दै उनले सर्वदलीय बैठकको निर्णयअनुसार बाढी प्रभावित क्षेत्रको अनुगमन, क्षतिको मूल्याङ्कन र आवश्यक कदमबारे अध्ययन गर्न तत्काल उच्चस्तरीय विशेष संसदीय समिति गठन गर्न माग गरे।
भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घिमिरेले आन्दोलनले उठाएका सुशासन र भ्रष्टाचार नियन्त्रणका मुद्दाप्रति आफ्नो समर्थन रहेको बताए। वर्तमान सरकार गठन भएको करिब छ महिना पुग्न लाग्दा पनि सुशासनका क्षेत्रमा ठोस परिणाम नदेखिएको आरोप लगाउँदै उनले सामाजिक सञ्जालमा अभिव्यक्ति दिनु र अघिल्ला पदाधिकारीलाई दोष लगाउनु मात्र भ्रष्टाचार नियन्त्रणको उपाय हुन नसक्ने टिप्पणी गरे।
“सामाजिक सञ्जालमा स्टाटस लेख्दैमा र मन्त्रीहरूले दादागिरी गर्दैमा भ्रष्टाचार नियन्त्रण हुँदैन,” घिमिरेले भने, “विगतका पदाधिकारीलाई गाली र आतङ्क सिर्जना गर्नेबाहेक सरकारले कुनै काम थालनी गरेको छैन।”
विगत ३५ वर्षमा देशमा कुनै विकास नभएको भन्ने प्रचारप्रति असहमति जनाउँदै उनले अघिल्ला सरकारका पालामा जलविद्युत, सडक, पुल, विमानस्थल, शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण पूर्वाधार निर्माण भएको दाबी गरे। कांग्रेस नेतृत्वका सरकारहरूले विद्युत उत्पादन, सडक विस्तार र विमानस्थलसहितका पूर्वाधार विकासमा योगदान दिएको उल्लेख गर्दै उनले वर्तमान सरकारलाई आगामी पाँच वर्षका लागि ठोस पूर्वाधार विकास योजना सार्वजनिक गर्न चुनौती दिए।
घिमिरेले वर्तमान सरकारले पाँच वर्षको कार्यकाल पूरा गरोस् भन्ने आफ्नो शुभकामना रहेको बताउँदै कानुन निर्माण तथा विकासका काममा कांग्रेस रचनात्मक सहयोग गर्न तयार रहेको स्पष्ट पारे। तर अरूलाई दोष लगाउने, हिलो छ्याप्ने र राजनीतिक प्रदर्शनमा सीमित हुने प्रवृत्ति छोडेर परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई आग्रह गरे।





