३१ भाद्र २०८३, बुधबार

रुसद्वारा पश्चिमा नेताहरू चढेको रेल जानाजान निशाना बनाएको आरोप अस्वीकार

ड्रागन मिडिया समाचार कक्ष

रुसले युक्रेनको पश्चिमी क्षेत्रमा गरिएको पछिल्लो आक्रमणका क्रममा पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसन, पूर्व सीआईए निर्देशक डेभिड पेट्रियस तथा अन्य पश्चिमा अधिकारी यात्रा गरिरहेका रेललाई जानाजान निशाना बनाएको भन्ने आरोप अस्वीकार गरेको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले सेप्टेम्बर १५ मा प्रतिक्रिया दिँदै सेप्टेम्बर १३ का आक्रमण सैन्य प्रयोजनमा प्रयोग भइरहेका लक्ष्य तथा यातायात र रसद पूर्वाधारमा केन्द्रित रहेको दाबी गरेकी छन्।

जाखारोभाले रुसी सेनाले सर्वसाधारण वा नागरिक यातायातलाई लक्षित नगर्ने दाबी गर्दै उक्त दिनका प्रहार सैन्य प्रयोजनमा प्रयोग भइरहेका संरचनामा गरिएको बताइन्। उनले पश्चिमी हतियार तथा सैन्य सामग्री ढुवानीका लागि प्रयोग हुने रेल जङ्सन, डिपो र रेल इन्जिनलाई रुसले सैन्य लक्ष्यका रूपमा हेर्ने गरेको दोहोर्‍याइन्।

उनले घटनास्थल नजिक रहेका केही पश्चिमा राजनीतिक व्यक्तित्वलाई लिएर गरिएको प्रचारलाई अस्वीकार गर्दै यसलाई थप सैन्य सहयोग जुटाउने प्रयाससँग जोडेर व्याख्या गरिन्। उनका अनुसार केही व्यक्तिको उपस्थितिलाई आधार बनाएर आक्रमण उनीहरूविरुद्ध लक्षित थियो भन्ने निष्कर्ष निकाल्नु गलत हो।

जाखारोभाले रुसले यसअघि पनि विदेशी नागरिक, कूटनीतिज्ञ तथा उनीहरूका परिवारलाई युक्रेनमा रहँदा सुरक्षा जोखिमबारे सचेत गराएको बताइन्। उनले रुसी सेनाले युक्रेनका रक्षा संरचना तथा कमाण्ड र निर्णय केन्द्रमाथि व्यवस्थित प्रहार तीव्र बनाएको भन्दै विदेशी नागरिकले जोखिमको मूल्याङ्कन गर्नुपर्ने धारणा राखिन्।

रुसी पक्षले आफ्ना प्रहार युक्रेनी सशस्त्र बलले रुसभित्र नागरिक तथा नागरिक पूर्वाधारमा गरेको आक्रमणको प्रत्युत्तर भएको दाबी गरेको छ। अर्कोतर्फ युक्रेनी पक्षले रेल तथा यातायात पूर्वाधारमाथिका आक्रमणले नागरिक सुरक्षामाथि गम्भीर खतरा सिर्जना गरेको बताउँदै आएको छ।

यस घटनाले युक्रेन युद्धमा रेलमार्ग र रसद संरचनाको दोहोरो प्रयोगसम्बन्धी विवादलाई फेरि सतहमा ल्याएको छ। रुसले सैन्य सामग्री ढुवानीमा प्रयोग हुने रेल संरचनालाई वैध सैन्य लक्ष्य मानेको छ भने युक्रेन र उसका साझेदारहरूले यात्रुवाहक तथा नागरिक यातायात प्रणालीमाथि हुने प्रहारले सर्वसाधारणलाई जोखिममा पार्ने तर्क गर्दै आएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button