१ आश्विन २०८३, बिहीबार

१८ दिनपछि पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा यातायात पुनःसञ्चालन

ड्रागन मिडिया सम्वाददाता

अठार दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा आज बिहानदेखि दुईतर्फी यातायात पुनःसञ्चालन भएको छ। भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरी करिब १०० मिटर सडक बगाएपछि यो खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो।

सडक पूर्ण रूपमा भासिएपछि भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक निर्माण शुरु गरिएको थियो। नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म निर्माण तथा आवश्यक सुधारका काम पूरा गरी आज बिहानदेखि नियमित रूपमा सवारी सञ्चालन गरिएको हो। दुई दिनअघिदेखि रोकिएका केही सवारीलाई भने साँझको समयमा क्रमशः पार गराइएको थियो।

नदी कटानले सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि पूर्वाधार विकास मन्त्रालयले जनशक्ति, उपकरण र श्रोतसाधन परिचालन गरी नयाँ ट्र्याक खोल्ने तथा सडक पुनःस्थापना गर्ने काम तीव्र बनाएको थियो। वैकल्पिक ट्र्याक तयार भएसँगै संघीय राजधानी काठमाडौंसँगको मुख्य सडक सम्पर्क पुनःस्थापित भएको छ।

कृष्णभीरमा यातायात सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रूपमा रोकिएको सवारी आवागमन पनि आजदेखि नियमित गरिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार कृष्णभीर खुलेपछि तत्कालका लागि तुइन खोलामा सवारी रोकेर भइरहेको पहिरो रोकथामको काम स्थगित गरिएको छ।

कृष्णभीर लामो समय अवरुद्ध हुँदा ठूला मालवाहक सवारी काठमाडौं आउन नसक्दा राजधानीमा एलपी ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा समेत असर परेको थियो। यो सडक हुँदै दैनिक करिब १४ हजार सवारी आवतजावत गर्ने भएकाले अवरोधले यात्रु तथा मालवाहक ढुवानी दुवैमा ठूलो दबाब सिर्जना गरेको थियो।

भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि बढेको त्रिशूलीमा भदौ १४ गते पुनः ठूलो बाढी आएको थियो। त्यसपछि पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासिएको भए पनि अधिकांश खण्ड चाँडै सञ्चालनमा आएका थिए। कृष्णभीरमा भने सडक नै पूर्ण रूपमा बगाएपछि नयाँ ट्र्याक निर्माण गरेर मात्र यातायात पुनःसञ्चालन सम्भव भएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button