१६ कार्तिक २०८३, आईतवार

पक्राउका बेला पहिलो प्रश्न ‘मोबाइल खोइ?’ थियो : वरिष्ठ पत्रकार श्रेष्ठ

ड्रागन मिडिया सम्वाददाता

वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले आफूलाई पक्राउ गर्दा प्रहरीले पहिलो प्रश्न मोबाइल फोनबारे सोधेको बताएका छन्। साउन २७ गते राति उपत्यका अपराध अनुसन्धान महाशाखा र काठमाडौँ प्रहरी परिसरबाट आएका सादा पोशाकका ५५ जना प्रहरीको टोलीले घरबाट पक्राउ गरी भद्रकाली पुर्‍याएको उनले सामाजिक सञ्जालमा लेखेका छन्।

श्रेष्ठका अनुसार महाराजगञ्जलगायतका प्रहरी चौकीमा सार्दै उनलाई पाँच रात हिरासतमा राखिए पनि बयान लिइएन। बरु दुई मध्यरातमा घर र कार्यालयमा खानतलासी गरिएको र ल्यापटप, सीसीटीभी तथा कम्प्युटरलगायतका सामग्री लगिएको उनले बताएका छन्।

खानतलासीका क्रममा प्रहरीले सामग्री उठाउँदै गरेको दृश्यको प्रत्यक्ष दृश्याङ्कन गरेर निर्देशन मागिरहेको उनको दाबी छ। आफूलाई पटकपटक नियन्त्रणमा लिएर समाचारका श्रोत खुलाउन दबाब दिइएको पनि उनले लेखेका छन्।

“श्रोतहरू हाम्रा भगवान् हुन्। हामी सिद्धिउँला तर श्रोतहरू अजर, अमर रहनेछन्। श्रोतलाई कुनै पनि हालतमा आँच आउन दिइन्न,” श्रेष्ठले लेखेका छन्।

उनले अहिले पनि २८ जना पत्रकारलाई पक्राउ गर्न सूची तयार पारिएको भन्ने प्रसङ्ग उल्लेख गर्दै राज्यका श्रोतसाधन दुरुपयोग गरी पत्रकारलाई निशाना बनाइएको आरोप लगाएका छन्। पत्रकारले अपराध गरे कानुनी प्रक्रिया अपनाउन सकिने भए पनि समाचार लेखेकै आधारमा धरपकड गर्नु र सञ्चारगृहमा राज्यआतङ्क फैलाउनु उचित नहुने उनको भनाइ छ।

“समाचार लेखेकै भरमा पत्रकारलाई तर्साउन, धम्काउन र दुःख दिन बन्दुकको दुरुपयोग जारी रह्यो भने अन्ततः कलम नै बलियो ठहरिन्छ,” श्रेष्ठले लेखेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button