१ आश्विन २०८३, बिहीबार

छोरा बाढीमा बेपत्ता, मिर्गौला पीडित आमाको उपचार रोकियो

ड्रागन मिडिया सम्वाददाता

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरकी सुनिता डगौरा विगत चार महिनादेखि दुवै मिर्गौलामा समस्या देखिएर घरमै थला परेकी छन्। उपचारका लागि आर्थिक स्रोत जुट्न नसकिरहेका बेला परिवारको मुख्य सहारा बनेका २५ वर्षीय जेठा छोरा अभिषेक डगौरा रसुवाको बाढीमा बेपत्ता भएपछि डगौरा परिवारमाथि एकैपटक रोग, गरिबी र वियोगको पीडा थपिएको छ।

रसुवाको लाङटाङ जलविद्युत आयोजनामा काम गर्दै आएका अभिषेकले गत भदौ १० गते आमालाई फोन गरेर उपचारको चिन्ता नगर्न र आफू घर फर्किएपछि व्यवस्था मिलाउने बताएका थिए। उनको योजना आमाको उपचारका लागि नयाँ दिल्ली जाने र त्यहीँ काम खोज्ने थियो। तर घर फर्कने तयारीमै रहेका बेला भोटेकोशी तथा रसुवा क्षेत्रमा आएको बाढीपछि उनी सम्पर्कविहीन भए।

सुनिताको उपचारका लागि उनका श्रीमान् बन्दुराम डगौराले परिवारसँग भएको तीन कट्ठा जग्गासमेत बन्धक राखेर भारतको बरेलीमा उपचार गराएका थिए। त्यस क्रममा करिब डेढ लाख रुपैयाँ खर्च भएको थियो। तर आर्थिक अभावका कारण असारयता नियमित उपचार रोकिएको छ। परिवारका अनुसार एकपटक अस्पताल पुग्दा मात्र कम्तीमा १६ हजार भारतीय रुपैयाँ खर्च हुन्छ, जबकि अहिले दैनिक घरखर्च जुटाउनसमेत मुस्किल भइरहेको छ।

छोरा बेपत्ता भएपछि बन्दुराम काठमाडौँसम्म पुगेर खोजीमा जुटे। तर अभिषेकको अवस्था पत्ता लाग्न सकेन। न जीवित रहेको खबर आयो, न शव भेटियो। अन्ततः उनले ठेकेदारबाट छोराले काम गरेबापत पाउन बाँकी १५ हजार रुपैयाँ पारिश्रमिक बुझेर भारी मनसहित घर फर्कनुपर्‍यो।

घरको चुल्हो बाल्ने र आमाको उपचारको जिम्मा लिने छोरा बेपत्ता भएपछि परिवारको अवस्था झन दयनीय बनेको छ। गाउँलेले चन्दा उठाएर दिएको ६५ हजार रुपैयाँ र केही अन्नका भरमा अहिले परिवारको दैनिक गुजारा चलिरहेको छ। उपचार रोकिएकी सुनिताको स्वास्थ्य अवस्था भने परिवारका लागि निरन्तर चिन्ताको विषय बनेको छ।

शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद डगौराका अनुसार परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले उपचार तथा सहयोग जुटाउन आवश्यक सिफारिस गरिएको छ। आर्थिक स्रोत जुटे सुनिताको उपचार नेपालमै गराउने परिवारको योजना छ, तर त्यसका लागि चाहिने रकम अझै व्यवस्थापन हुन सकेको छैन।

कञ्चनपुर निर्वाचन क्षेत्र नं २ का सांसद दीपकराज बोहराले पनि प्रतिनिधिसभामा डगौरा परिवारको अवस्था उठाउँदै आफ्नो निर्वाचन क्षेत्रका १४ जना बाढीपछि बेपत्ता रहेको जानकारी गराएका छन्। उनले बेपत्ताको खोजी र प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा राज्यले प्राथमिकताका साथ काम गर्नुपर्ने विषय उठाएका छन्।

चरम आर्थिक अभाव, गम्भीर रोग र छोराको वियोग एकैपटक सहन बाध्य सुनिता अहिले आफ्नो उपचार निरन्तर गराउन सरकार तथा सहयोगी मनहरूसँग सहयोगको अपेक्षामा छिन्। परिवारका लागि अहिले सबैभन्दा ठूलो आवश्यकता उनको उपचारको व्यवस्था र बेपत्ता अभिषेकको अवस्थाबारे विश्वसनीय जानकारी हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button