१ आश्विन २०८३, बिहीबार

तीज कप फाइभ ए साइड फुटबलको उपाधि ब्रदर्स एफसीलाई

ड्रागन मिडिया सम्वाददाता

बाँकेको खजुरामा आयोजित खुला तीज कप फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि ब्रदर्स एफसीले जितेको छ। रोअरिङ लायन्स क्लबको आयोजनामा भएको प्रतियोगिताको बुधबार सम्पन्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै ब्रदर्स एफसी च्याम्पियन बनेको हो।

ब्रदर्स एफसीले उपाधिसँगै २० हजार रुपैयाँ नगद, ट्रफी र पदक प्राप्त गरेको छ। प्रतियोगिताको उपविजेता टोलीले आठ हजार रुपैयाँसहित ट्रफी र पदक प्राप्त गर्ने व्यवस्था गरिएको थियो। प्रतियोगिता भदौ २८ गतेदेखि सञ्चालन भएको थियो। खुला प्रतिस्पर्धाका रूपमा आयोजना गरिएको प्रतियोगितामा प्रत्येक टोलीबाट मैदानमा पाँच खेलाडी र दुई वैकल्पिक खेलाडी राख्न पाउने व्यवस्था थियो।

उपाधि जितेपछि ब्रदर्स एफसीका खेलाडी तथा समर्थकले टोलीको सामूहिक मेहनत, एकता र निरन्तर संघर्षलाई सफलताको मुख्य आधार बताएका छन्। टोलीले आफ्नाे नेता तथा काेषाध्यक्ष राकेश पाैडेलप्रति समर्पित गर्दै उनको हौसलाले टोलीलाई एकताबद्ध राख्ने भूमिकाको विशेष प्रशंसा गरेको छ। प्रतियोगितामा प्रथम भएपछि खुशी ब्यक्त गर्दै राकेश पाैडेलले खेलाडीलाई हार्दिक बधाई दिए र उनीहरूकाे क्षमताको प्रशंसा गरेका छन्। पाैडेल पछिल्लो समय समाज रुपान्तरणकाे अभियानमा निकै सक्रिय छन्। उनलेे आफ्नो क्षमताले भ्याएसम्म स्थानीय युवा, दिनदुखी, असहायलाई ब्यक्तिगत रुपमा समेत सहयोग गरिरहेका छन्। समाजसेवाकाे नाममा मानिसहरूबाट रकम उठाएर सहयोग गरेको देखाएर चर्चामा आउने सामाजिक अपराधका विरुद्धमा राकेश पाैडेलले आफ्नो ब्यक्तिगत आम्दानीकाे केही हिस्सा समाजसेवामा लगाएर उदाहरणीय काम गरिरहेका छन्।

“यो जित केवल एउटा ट्रफी होइन, हाम्रो टोलीको मेहनत, एकता, संघर्ष र विश्वासको परिणाम हो,” ब्रदर्स एफसीले उपाधि जितेपछि अध्यक्ष विवेक सागर पाैडेलले बताएका छन्। उनलेे भने ब्रदर्स एफसीका खेलाडीलाई थप तालिम र अवसरकाे आवश्यकता छ। त्यसका लागि आफुले विभिन्न निकायसँग समन्वय गरिरहेको बताएका छन्। ब्रदर्स एफसीका अन्य पदाधिकारी, खेलाडीहरु र समर्थकहरु हाम्रा परिवार र शक्ति हुन। यो शक्तिलाई समाजको रुपान्तरण कसरी जाेड्ने भन्ने बारेमा छलफल भइरहेको बताए। पाैडेलकाे नेतृत्व र निरन्तर प्रेरणाले प्रतियोगितामा आत्मविश्वासका साथ अघि बढ्न सहयोग पुगेको खेलाडी माेहित थापा, अभिषेक खड्का, नमराज भण्डारी लगायतले जनाएका छन्।

ब्रदर्स एफसी पछिल्लो समय खजुरा क्षेत्रको स्थानीय फुटबलमा निरन्तर सक्रिय रहँदै आएको टोली हो। यसअघि गत जेठमा खजुरामै आयोजित प्रथम अशोक स्मृति कप यू–२० फुटबल प्रतियोगिताको उपाधिसमेत ब्रदर्स एफसीले जितेको थियो। उक्त प्रतियोगिताको फाइनलमा निर्धारित समय गोलरहित बराबरी भएपछि ब्रदर्सले महिन्द्र दल गण भूपू टोलीलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको थियो। त्यसबेला टोलीको कप्तानी भरत घर्ती मगरले गरेका थिए।

यसै वर्ष रुकुम पूर्वमा आयोजित एचएससीवाईसी कपको पुरुष फुटसल प्रतियोगितामा समेत ब्रदर्स एफसीले प्रभावशाली प्रदर्शन गरेको थियो। नरेबाङ एफसीलाई ६–२ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको खेलमा मोहित थापाले पाँच गोल गरेका थिए भने कप्तान भरत घर्ती मगरले एक गोल गरेका थिए। यी प्रतियोगितामा देखिएको निरन्तर उपस्थितिले ब्रदर्स एफसीले स्थानीय युवा खेलाडीलाई प्रतिस्पर्धात्मक फुटबलमा जोड्दै आफ्नो टोली निर्माणलाई निरन्तरता दिएको देखिन्छ।

रोअरिङ लायन्स क्लबले आयोजना गरेको तीज कपमा खेलकुद मार्फत युवाबीच एकता, खेल भावना र भाइचारा प्रवर्द्धन गर्ने उद्देश्यलाई प्राथमिकता दिइएको थियो। आयोजकले प्रतियोगितालाई “एकता, खेल भावना र भाइचारा”सँग जोडेर प्रस्तुत गरेको थियो। स्थानीय स्तरमा यस्ता खुला प्रतियोगिताले नयाँ खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण दिने र नियमित फुटबल गतिविधिलाई जीवन्त राख्ने अपेक्षा गरिएको छ।

ब्रदर्स एफसीका लागि पछिल्लो उपाधि केवल अर्को ट्रफी थपिएको घटना मात्र होइन। केही महिनाको अन्तरालमा विभिन्न प्रतियोगितामा देखाएको निरन्तर प्रदर्शनले टोली खजुरा क्षेत्रको उदीयमान र प्रतिस्पर्धी फुटबल टोलीका रूपमा स्थापित हुँदै गएको संकेत गरेको छ। खेलाडीहरूले भने सफलताको श्रेय व्यक्तिगत प्रदर्शनभन्दा टोलीको अनुशासन, आपसी विश्वास र सामूहिक प्रयासलाई दिएका छन्।

फाइनलपछि ट्रफी र पदकसहित खुशी साटेका ब्रदर्स एफसीका खेलाडी तथा पदाधिकारीले आगामी प्रतियोगितामा पनि यही लय कायम राख्ने प्रतिबद्धता जनाएका छन्। कप्तान भरत घर्ती मगरको अनुपस्थितिमा प्राप्त पछिल्लो सफलताले टोलीको आत्मविश्वास थप बढाएको छ भने खजुराका युवा फुटबल खेलाडीमा पनि नयाँ उत्साह थपेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button