३ आश्विन २०८३, शनिबार

ताक्लाकोटमा नेपाल–चीन सीमा सुरक्षा बैठक, उरै नाका सञ्चालन र कैलाश मानसरोवर यात्रा सहजीकरणमा जोड

ड्रागन मिडिया सम्वाददाता

चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित पुलान काउन्टीको ताक्लाकोटमा नेपाल र चीनका सीमावर्ती अधिकारीहरूबीच सीमा सुरक्षा बैठक सम्पन्न भएको छ। सेप्टेम्बर १४ देखि १७ सम्म सञ्चालन भएको बैठकमा सीमा अपराध नियन्त्रण, सीमा व्यवस्थापन, परम्परागत व्यापारको निरन्तरता तथा कैलाश मानसरोवर यात्रालाई सहज बनाउने विषयमा विस्तृत छलफल भएको हो।

पुलान काउन्टीको स्थानीय प्रशासनले आयोजना गरेको बैठकमा नेपालका तर्फबाट बझाङ र हुम्लाका सुरक्षा निकायका प्रमुख तथा स्थानीय जनप्रतिनिधि सहभागी भएका थिए। दार्चुलातर्फ बाटो अवरुद्ध भएका कारण त्यहाँबाट भने एक जना प्रतिनिधि मात्र सहभागी हुन सकेका थिए। बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश केसरी, साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहरा तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारी हुम्ला हुँदै ताक्लाकोट पुगेका थिए।

बैठकमा नेपाली पक्षले विशेषगरी बझाङको सीमावर्ती उरै नाकालाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन जोड दिएको छ। उरै नाका कैलाश मानसरोवरतर्फ जाने छोटो परम्परागत मार्गमध्ये एक भएकाले स्थानीय बासिन्दाको आवतजावत, व्यापार तथा तीर्थयात्रालाई सहज बनाउन यसको प्रभावकारी सञ्चालन आवश्यक रहेको नेपाली पक्षले उल्लेख गरेको छ। सीमाक्षेत्रका बासिन्दाले लामो समयदेखि भोग्दै आएका आवतजावत र पशुचौपाया चरिचरनसम्बन्धी समस्या समाधानको विषय पनि बैठकमा उठाइएको थियो।

साइपाल गाउँपालिकाका अध्यक्ष बोहराका अनुसार विगतमा जस्तै उरै नाकाबाट ताक्लाकोट आवतजावत सहज बनाउने, सीमावर्ती बासिन्दाले भोग्दै आएका कठिनाइ हटाउने तथा पशुचौपाया चरिचरनका व्यावहारिक समस्या समाधान गर्ने विषयमा चिनियाँ पक्षको ध्यानाकर्षण गराइएको छ। नेपाली पक्षले प्रस्तुत गरेका विषयप्रति चिनियाँ अधिकारीहरू सकारात्मक देखिएको र सम्बन्धित माथिल्लो निकायसँग छलफल गरी आवश्यक जानकारी उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले बताएका छन्।

बैठकमा नेपाल र चीनबीचको परम्परागत मित्रतालाई थप सुदृढ बनाउँदै सीमाक्षेत्रमा सुरक्षा समन्वय र व्यापारिक सम्पर्क विस्तार गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ। दुवै पक्षले सीमाक्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रणका लागि सूचना आदानप्रदान र आपसी समन्वयलाई प्रभावकारी बनाउने तथा सीमा सुरक्षा बैठकलाई नियमित रूपमा निरन्तरता दिने विषयमा सहमति जनाएका छन्।

नेपाल र चीनबीच सीमावर्ती क्षेत्रमा पुस्तौँदेखि हुँदै आएको परम्परागत व्यापारलाई पुनः सहज र व्यवस्थित बनाउने विषयमा समेत बैठकमा छलफल भएको छ। उरै नाकाको प्रभावकारी सञ्चालनसँगै स्थानीय व्यापार, सीमावर्ती समुदायको आवतजावत र कैलाश मानसरोवर यात्राका व्यावहारिक कठिनाइ क्रमशः समाधान गर्न सकिए बझाङसहित पश्चिमी हिमाली क्षेत्रको आर्थिक तथा धार्मिक पर्यटन गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button