३ आश्विन २०८३, शनिबार

विद्यालय तहबाटै फुटबलको आधार बलियो बनाउनुपर्नेमा जोड

ड्रागन मिडिया सम्वाददाता

विराटनगर — विकेभिएम स्कुलका प्रिन्सिपल रविनकुमार दाहालले नेपाली फुटबलको विकास सानै उमेरका बालबालिकाबाट शुरु गर्नुपर्ने बताएका छन्। विराटनगरमा शुक्रबार १८ वर्षमुनिको एशियन पेन्ट्स च्याम्पियन्स कपको ट्रफी अनावरण गर्दै उनले विद्यालय तहबाटै प्रतिभा पहिचान गरी खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर उपलब्ध गराउन सके राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए। निजी क्षेत्रको सहकार्यमा हुने यस्ता प्रतियोगिताले विद्यार्थीलाई शिक्षासँगै खेलकुदमा अघि बढ्न प्रेरित गर्ने उनको भनाइ थियो।

च्याम्पियन्स कपलाई अगुवाइ गर्दै आएका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा प्रशिक्षक उपेन्द्रमान सिंहले ग्रासरुट फुटबललाई प्रभावकारी बनाउन विद्यालयस्तरीय प्रतियोगिताको निरन्तरता आवश्यक रहेको बताए। विद्यालयबाटै खेलाडी पहिचान र विकास गर्न सकिने उल्लेख गर्दै उनले राष्ट्रिय खेलकुद परिषदको सहमतिमा प्रतियोगितालाई तीन वर्षसम्म निरन्तर सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।

प्रतियोगितालाई सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको छ। सिंहका अनुसार विभिन्न प्रदेशसहित कोशी प्रदेशमा सम्पन्न खेलका प्रत्येक गोलबापत २५० रुपैयाँ र छनोटपछि काठमाडौँमा हुने फाइनल चरणका प्रत्येक गोलबापत दुई हजार ५०० रुपैयाँ संकलन गरी रसुवा बाढीपीडितलाई सहयोग प्रदान गरिनेछ। कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष तथा प्रतियोगिताका कोशी प्रदेश संयोजक वसन्तराज अर्यालले पनि यस्ता कार्यक्रमले विद्यालयस्तरीय फुटबलको विकासमा टेवा पुग्ने बताए।

विकेभिएममा अनावरण गरिएको ट्रफी नगर परिक्रमा गराउँदै विराटनगरको सहिद मैदान पुर्‍याइएको थियो। प्रतियोगितामा देशभरबाट दुई हजार २०० भन्दा बढी विद्यार्थी सहभागी भएका छन्। काठमाडौँमा हुने फाइनल चरणमा स्थान बनाउन विराटनगर र इटहरी छनोटका विजेता विद्यालयबीच प्रतिस्पर्धा हुनेछ। छात्रातर्फ सुष्मा गोदावरी स्कुल, धरान छनोट भइसकेको छ।

प्रतियोगितामा एशियन पेन्ट्स, विवाइडी, सूर्यज्योति इन्स्योरेन्स, ग्लोबल आइएमइ, बम बम इनर्जी ड्रिङ्क्स र एनसेलले सहकार्य गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button