३ आश्विन २०८३, शनिबार

संविधानको रक्षा गर्न पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्छ : ओली

ड्रागन मिडिया सम्वाददाता

काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका पक्षधर शक्तिहरू एकताबद्ध भएर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा राष्ट्रिय एकता सुदृढ गर्नुपर्ने बताएका छन्।

संविधान दिवसका अवसरमा शनिबार स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै ओलीले संविधान जारी भएपछि मुलुकले सामना गरेको नाकाबन्दीलगायत कठिन परिस्थितिको स्मरण गरेका छन्। त्यस्ता परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताको महत्व थप स्पष्ट पारेको उल्लेख गर्दै उनले वर्तमान अवस्थामा संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गरेका छन्।

ओलीले लोकतान्त्रिक, वामपन्थी, देशभक्तिपूर्ण तथा विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलनका क्रममा जीवन गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। संविधान निर्माणका क्रममा मुलुक र नेपाली जनताले ठूलो मूल्य चुकाउनुपरेको उल्लेख गर्दै उनले संविधानले परिलक्षित गरेका लोकतान्त्रिक मूल्यमान्यता, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।

संविधान जारी भएपछि आफ्नो पार्टी नेतृत्वको सरकारले आवश्यक कानुन निर्माण र संरचनागत विकासमार्फत संविधान कार्यान्वयनलाई अघि बढाएको ओलीको दाबी छ। एमालेले यस वर्षको संविधान दिवसलाई संविधानको रक्षा, कार्यान्वयन र संवैधानिक व्यवस्थाको सुदृढीकरणको सन्देशसहित देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button