४ आश्विन २०८३, आईतवार

रुस–नेपाल कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा काठमाडौँमा नाट्य सप्ताह शुरु

ड्रागन मिडिया सम्वाददाता

नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा काठमाडौँस्थित रुसी सांस्कृतिक केन्द्रमा सेप्टेम्बर १८ देखि रुस–नेपाल नाट्य सप्ताह शुरु भएको छ। नेपाली नाट्य संस्था शैली थिएटरको मुख्य आयोजनामा शुरु भएको कार्यक्रमले दुई देशबीचको सांस्कृतिक सम्बन्ध र कलात्मक सहकार्यलाई थप विस्तार गर्ने उद्देश्य राखेको छ।

नाट्य सप्ताहको औपचारिक उद्घाटन समारोहमा नेपालका सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले सम्बोधन गरेका थिए। कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, नेपालस्थित रुसी राजदूतावासका मिनिस्टर काउन्सेलर रिन्चेन राक्षाएभ तथा काठमाडौँस्थित रुसी सांस्कृतिक केन्द्रकी प्रमुख अनास्तासिया खोख्लोभाको सहभागिता थियो।

नाट्य सप्ताहको पहिलो प्रस्तुतिका रूपमा रुसी साहित्यकार अन्तोन चेखभको एकाङ्की नाटक ‘स्वान सङ’ मञ्चन गरिएको थियो। शैली थिएटरका प्रमुख नवराज बुढाथोकीको निर्देशनमा प्रस्तुत नाटकलाई महेश पौड्यालले नेपाली भाषामा अनुवाद गरेका हुन्।

नाटकमा नेपाली रङ्गमञ्चका वरिष्ठ कलाकार सुनील पोखरेल र कलाकार सब्बु गुरुङले अभिनय गरेका थिए। उनीहरूको प्रस्तुतिमार्फत रुसी साहित्यको महत्त्वपूर्ण कृति नेपाली दर्शकसमक्ष आफ्नै भाषामा प्रस्तुत गरिएको थियो।

नेपालस्थित रुसी राजदूतावासले नाट्य सप्ताहको आयोजनामा संलग्न सबै संस्था तथा व्यक्तिप्रति आभार व्यक्त गर्दै विशेषगरी कलाकार सुनील पोखरेल र सब्बु गुरुङको योगदानको प्रशंसा गरेको छ।

रुस र नेपालबीच कूटनीतिक सम्बन्धको सात दशक पूरा भएको अवसरमा आयोजित नाट्य सप्ताहले साहित्य, नाटक र सांस्कृतिक आदानप्रदानमार्फत दुई देशका नागरिकबीच आपसी समझदारी विस्तार गर्ने अवसर प्रदान गरेको छ। यस प्रकारका कार्यक्रमले औपचारिक कूटनीतिक सम्बन्धसँगै जनस्तरको मित्रता र सांस्कृतिक सहकार्यलाई निरन्तरता दिन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button