एमालेमा पार्टी पुनर्गठनको प्रतिवेदनमाथि विवाद, आज कार्यदल र सचिवालय बैठक बस्दै

ड्रागन मिडिया सम्वाददाता
नेकपा एमालेले निर्वाचन समीक्षा, पार्टी पुनर्गठन र आगामी केन्द्रीय कमिटी बैठकको तयारीका लागि आइतबार दुई महत्त्वपूर्ण बैठक बोलाएको छ। पार्टी नेतृत्वको जिम्मेवारी र संगठनात्मक पुनर्गठनका विषयमा कार्यदलभित्र फरक धारणा देखिएका बेला निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल र सचिवालयको बैठक बस्न लागेको हो।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बिहान ९ बजे र सचिवालय बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ। कार्यदलले पुनर्गठनसम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिएर सचिवालयमा पेस गर्ने तयारी गरेको छ। सचिवालय बैठकमा उक्त प्रतिवेदनसँगै आगामी केन्द्रीय कमिटी बैठकका कार्यसूचीमाथि छलफल हुनेछ।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित कार्यदलभित्र पार्टी पुनर्गठन र नेतृत्वको जिम्मेवारीका विषयमा फरक धारणा देखिएको थियो। कार्यदलका संयोजक थापा र महासचिव शंकर पोखरेलले पृथक प्रतिवेदन तयार गरेपछि विवाद उत्पन्न भएको हो। त्यसपछि थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेललाई दुवै प्रतिवेदन एकीकृत गरी साझा दस्ताबेज तयार गर्ने जिम्मेवारी दिइएको थियो।
महासचिव पोखरेलको प्रतिवेदनमा निर्वाचन परिणामको जिम्मेवारी नेतृत्वले लिनुपर्ने र अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणका लागि मार्गप्रशस्त गर्नुपर्ने सुझाव समेटिएको बताइएको छ। उपाध्यक्ष थापाको प्रतिवेदनमा भने निर्वाचन परिणामका लागि अध्यक्षलाई मात्रै जिम्मेवार ठहर्याउन नहुने तर्क गरिएको छ। दुवै प्रतिवेदनमा नेतृत्वको निरन्तरता, संगठनात्मक पुनर्गठन र निर्वाचन समीक्षाका विषयमा फरक दृष्टिकोण प्रस्तुत भएका छन्।
कार्यदलले तयार गर्ने अन्तिम दस्ताबेजले निर्वाचन परिणामको समीक्षा, नेतृत्वको जिम्मेवारी, संगठनात्मक सुधार र पार्टीको आगामी कार्यदिशासम्बन्धी छलफलका लागि आधार तयार गर्नेछ। साझा प्रतिवेदन तयार गर्ने प्रयास भइरहेका बेला आइतबारका बैठकले पार्टीभित्र देखिएका मतभिन्नतालाई कसरी सम्बोधन गर्छन् भन्ने विषयमा चासो बढेको छ।
एमालेले असोज ५ देखि ७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाएको छ। ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्ने बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी प्रस्तावमाथि छलफल हुने तयारी छ। त्यसअघि बस्ने कार्यदल र सचिवालय बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत गरिने दस्ताबेज तथा कार्यसूचीलाई अन्तिम रूप दिने तयारी गरेका छन्।





