आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

ड्रागन मिडिया सम्वाददाता
देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई क्षेत्रमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका थोरै स्थान तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बादल रहने अनुमान छ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थान र तराईका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
आज राति पनि हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा तराई क्षेत्रमा आंशिक बादल रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा यात्रा गर्दा तथा नदी, खोला र पहिरोको जोखिम भएका स्थानमा सतर्कता अपनाउन आवश्यक छ।





