एसियाली खेलकुदमा एरिका गुरुङसहित नेपालका तीन कराते खेलाडी सेमिफाइनलमा पराजित

ड्रागन मिडिया समाचार कक्ष
जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालकी कराते खेलाडी एरिका गुरुङसहित तीन खेलाडी सेमिफाइनलमा पराजित भएका छन्। आइतबार सम्पन्न प्रतिस्पर्धामा एरिका, राकेश मानन्धर र मीनबहादुर तामाङ फाइनल प्रवेश गर्न असफल भए पनि उनीहरूको पदक जित्ने सम्भावना कायम रहेको छ।
महिला कुमुते ६८ केजीमाथिको सेमिफाइनलमा एरिका कजाखस्तानकी सोफ्या बेरुल्टसेभासँग २–१ ले पराजित भइन्। प्रतिस्पर्धात्मक खेलमा एरिकाले युकोमार्फत एक अंक प्राप्त गर्दा कजाख खेलाडीले दुई अंक जोड्दै फाइनलमा स्थान सुरक्षित गरिन्। यसअघि एरिकाले जोर्डनकी यारा नासेरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेकी थिइन्।
एरिका र याराबीचको प्रतिस्पर्धा उनीहरूको अघिल्लो अन्तर्राष्ट्रिय उपलब्धिका कारण पनि महत्वपूर्ण थियो। गत जुनमा इन्डोनेसियाको बालीमा सम्पन्न २२औँ एसियाली सिनियर कराते च्याम्पियनसिपमा याराले रजत र एरिकाले कास्य पदक जितेका थिए। एरिकाले यसअघि १९औँ एसियाली खेलकुद, कराते प्रिमियर लिग र एसियाली च्याम्पियनसिपमा रजत पदक जितिसकेकी छन्।
पुरुष कुमुते ५५ केजीमुनिको सेमिफाइनलमा नेपालका राकेश मानन्धर उज्वेकिस्तानका खुमोयुन्मिर्जा खालिमोभसँग ७–० ले पराजित भए। अनुभवी उज्वेक खेलाडीले खेलमा सुरुदेखि नै दबाब कायम राख्दै स्पष्ट अन्तरको जित निकाले। यसअघि राकेशले थाइल्यान्डका नाथक्रित इन्ग्लोयलाई ९–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।
त्यस्तै, पुरुष कुमुते ६० केजीमुनिको सेमिफाइनलमा नेपालका मीनबहादुर तामाङ कुवेतका अब्दुल्लाह साहवसँग १०–१ ले पराजित भए। यसअघि उनले हङकङका हिम चाउलाई ४–१ ले हराउँदै प्रतियोगितामा आफ्नो चुनौती अघि बढाएका थिए।
नेपालले यसपटक करातेको कुमुतेतर्फ राकेश मानन्धर, मीनबहादुर तामाङ, तेन्जिङ शेर्पा, निरुपा डोङ तामाङ र एरिका गुरुङलाई प्रतिस्पर्धामा उतारेको छ। एरिकासहित तीन खेलाडी सेमिफाइनलसम्म पुग्नु नेपाली करातेका लागि महत्वपूर्ण उपलब्धि हो। उनीहरूको अन्तिम पदक स्थिति सम्बन्धित तौलसमूहको आधिकारिक नतिजाअनुसार निर्धारण हुनेछ।





