५ आश्विन २०८३, सोमबार

देउवासहित वरिष्ठ नेताहरूको अनुपस्थितिमा सुदूरपश्चिमका अधिकांश वडामा कांग्रेस अधिवेशन सम्पन्न

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका अधिकांश वडामा अधिवेशन सम्पन्न गरेको छ। पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासहित प्रदेशका धेरै वरिष्ठ नेताहरू सहभागी नभए पनि वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया अघि बढाइएको हो।

सुदूरपश्चिम प्रदेश निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गंगाराम पाध्याका अनुसार प्रदेशका ७३४ वडामध्ये ७३३ वडामा अधिवेशन सम्पन्न भएको छ। कैलालीको मोहन्याल गाउँपालिकाको एउटा वडामा मात्र अधिवेशन हुन बाँकी रहेको र त्यहाँ पनि सोमबार प्रक्रिया सम्पन्न गर्ने तयारी रहेको उनले बताएका छन्। पाध्याका अनुसार अधिवेशन सम्पन्न भएका स्थानमा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन्।

सुदूरपश्चिम प्रदेशमा नौ जिल्ला, एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी ८८ स्थानीय तह छन्। प्रदेशभरका अधिकांश वडामा अधिवेशन सम्पन्न भए पनि प्रमुख नेताहरूको अनुपस्थितिले कांग्रेसभित्रको आन्तरिक असहमतिलाई सार्वजनिक रूपमा उजागर गरेको छ।

अधिवेशनमा निवर्तमान सभापति देउवासँगै निवर्तमान सहमहामन्त्री बद्री पाण्डे, निवर्तमान केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर, गोविन्दबहादुर शाह, नरेशबहादुर सिंह, निर्प वड, विद्या तिमिल्सिना, डा. रणबहादुर रावल र रामजनम चौधरी सहभागी भएनन्। प्रदेश सभापति बलायर, प्रदेश महामन्त्री मेघराज खड्का तथा सहमहामन्त्रीद्वय चिन्तामणि भट्ट र गोपाल भट्टले पनि वडा अधिवेशनमा भाग लिएनन्।

त्यसैगरी पूर्वसांसद कविराज पण्डित, पूर्वप्रदेश प्रमुख देवराज जोशी, प्रदेश सांसदहरू मधु भारती र गीता चौधरी, पूर्वमन्त्रीहरू विक्रमसिंह धामी र शिवराज भट्टलगायत नेताहरू पनि अनुपस्थित रहेको जनाइएको छ। कैलालीका पार्टी सभापति नारायणदत्त भट्ट, कञ्चनपुरका सभापति पदम बोगटी तथा अन्य केही जिल्ला र प्रदेशस्तरीय नेताले समेत अधिवेशनमा सहभागिता जनाएनन्।

यसबीच अधिवेशनमा सहभागी नेताहरूले पार्टीभित्र सहमति र एकता कायम गर्न आग्रह गरेका छन्। केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले कांग्रेसका कार्यकर्ता अधिवेशनमा सहभागी हुने, अर्को मितिमा हुने अधिवेशनको पक्षमा रहने र दुवै प्रक्रियामा भाग नलिने गरी विभिन्न धारमा देखिएको बताएकी छन्। उनले सबै पक्ष एउटै पार्टीका सदस्य भएकाले सहमति, सहकार्य र एकताको साझा आधार खोज्नुपर्ने धारणा राखेकी छन्।

न्यौपानेले अधिवेशनका क्रममा अनावश्यक हस्तक्षेप र केही अप्रिय घटना भएको दाबीसमेत गरेकी छन्। उनका अनुसार पार्टीभित्र देखिएको मतभिन्नतालाई थप बढाउनुभन्दा विभाजित मन जोड्ने प्रयास आवश्यक छ।

सुदूरपश्चिममा वडा अधिवेशनको प्रक्रिया अधिकांश स्थानमा सम्पन्न भए पनि वरिष्ठ नेताहरूको अनुपस्थिति र फरक समूहका असहमतिले कांग्रेसको आगामी महाधिवेशन प्रक्रियामा आन्तरिक सहमतिको प्रश्न कायमै रहेको देखाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button