पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीले चार मैत्रीपूर्ण अभ्यास खेल खेल्ने

ड्रागन मिडिया सम्वाददाता
भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोलीले आगामी टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगिताको तयारीका लागि पोखरामा चार मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट सङ्घको सहयोग तथा गण्डकी प्रदेश क्रिकेट सङ्घको आयोजनामा सबै खेल पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।
गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार भुटानी टोलीले अक्टोबर ३ देखि मलेसियामा शुरु हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट ‘ए’ को तयारीका लागि पोखरा रोजेको हो। टोलीले असोज ११ र १२ गते गण्डकी प्रदेश क्रिकेट टोलीसँग तथा असोज १४ र १५ गते क्यान–११ सँग अभ्यास खेल खेल्ने तालिका छ।
सेप्टेम्बर २७ अर्थात विश्व पर्यटन दिवसका दिन भुटान र गण्डकी प्रदेशबीच पहिलो अभ्यास खेल हुनेछ। आयोजकले उक्त खेललाई क्रिकेट र पर्यटनबीचको सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा लिएको छ। अन्तर्राष्ट्रिय टोलीको उपस्थितिले पोखराको क्रिकेट पूर्वाधारको उपयोग बढाउनुका साथै स्थानीय खेलाडीलाई प्रतिस्पर्धात्मक अनुभव प्राप्त हुने अपेक्षा गरिएको छ।
अध्यक्ष सिग्देलले अभ्यास खेलले पोखराको क्रिकेट विकास र खेल पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने बताए। गण्डकी प्रदेश क्रिकेट सङ्घका सचिव सुमनराज कार्कीका अनुसार सङ्घले पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिको नियमित आयोजना हुने केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखेको छ।
भुटानी राष्ट्रिय टोलीको भ्रमणले नेपाल र भुटानबीच खेलकुद सम्बन्ध विस्तार गर्न तथा पोखरालाई अन्तर्राष्ट्रिय खेलकुद गन्तव्यका रूपमा परिचित गराउन सहयोग पुग्ने आयोजकको विश्वास छ।





