एमालेको केन्द्रीय कमिटी बैठकमा सुनिता बरालको आग्रह : निर्णय गर्दा पार्टीको दीर्घकालीन भविष्य हेर्नुपर्छ

ड्रागन मिडिया सम्वाददाता
नेकपा एमालेकी केन्द्रीय सदस्य सुनिता बरालले पार्टीको केन्द्रीय कमिटी बैठकले तत्कालीन राजनीतिक समीकरण र नेताहरूबीचको मतभेदभन्दा माथि उठेर दीर्घकालीन भविष्यलाई ध्यानमा राखी निर्णय गर्नुपर्ने बताएकी छन्। सोमबारदेखि जारी बैठकका बीच उनले मंगलबार सामाजिक सञ्जालमार्फत नेतृत्व र केन्द्रीय सदस्यहरूलाई आफ्नो जिम्मेवारीप्रति सचेत रहन आग्रह गरेकी हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य पदाधिकारीबीच नेतृत्व तथा पार्टी सञ्चालनका विषयमा मतभेद देखिएका बेला बरालले लोकतान्त्रिक सङ्गठनभित्र फरक धारणा र असहमति हुनु स्वाभाविक रहेको उल्लेख गरेकी छन्। उनका अनुसार केन्द्रीय सदस्यहरूलाई आफ्नो जिम्मेवारी र अधिकारको दायराभित्र रहेर स्वतन्त्रतापूर्वक निर्णय गर्ने अधिकार छ। तर, त्यस्ता निर्णयले पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता र शुभेच्छुकमा पार्ने प्रभावलाई पनि ध्यान दिनुपर्ने उनको भनाइ छ।
बरालले केन्द्रीय कमिटी बैठकले नेताहरूबीचको पक्ष–विपक्ष वा तत्कालीन राजनीतिक समीकरणलाई मात्र आधार बनाउन नहुने बताएकी छन्। पार्टीसँग व्यक्तिगत लाभको अपेक्षा नराखी कठिन परिस्थितिमा समेत साथ दिँदै आएका कार्यकर्ता र शुभेच्छुकको विश्वास जोडिएको उल्लेख गर्दै उनले नेतृत्वका निर्णयप्रति व्यापक जिम्मेवारी आवश्यक रहेको धारणा राखेकी छन्।
“हामीबीचको मतभेद क्षणिक हुन सक्छ, तर पार्टीको भविष्य पुस्तौँसम्मको विषय हो,” बरालले लेखेकी छन्। प्रत्येक विचार र निर्णयको केन्द्रमा एमाले तथा यसको दीर्घकालीन भविष्य रहनुपर्ने उनको आग्रह छ।
केन्द्रीय कमिटीका निर्णयले कार्यकर्ताको मनोबल र शुभेच्छुकको विश्वासमा असर पार्ने उल्लेख गर्दै बरालले वर्तमान असहमति समयक्रममा बिर्सन सकिए पनि अहिले गरिएका निर्णयको दीर्घकालीन प्रभाव रहने बताएकी छन्। उनले बैठकबाट पार्टीको प्रतिष्ठा, सङ्गठनात्मक एकता र भविष्यलाई ध्यानमा राखिएका निर्णय हुने अपेक्षा व्यक्त गरेकी छन्।





