झापामा २३ लाख ५९ हजार रुपैयाँका अवैध पटाका नष्ट

ड्रागन मिडिया सम्वाददाता
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले विभिन्न समयमा बरामद गरेका करिब २३ लाख ५९ हजार रुपैयाँ बराबरका अवैध पटाका तथा आतिसबाजीका सामग्री नष्ट गरेको छ।
आगामी तिहार र छठलाई सुरक्षित, मर्यादित तथा शान्तिपूर्ण बनाउन गण र मातहतका इकाइबाट खटिएका जाँच टोलीले विभिन्न मिति र स्थानबाट ती सामग्री नियन्त्रणमा लिएका थिए।
चाडपर्वमा पटाका र आतिसबाजीको प्रयोगले आगलागी, मानवीय दुर्घटना तथा धनजनको क्षति हुनुका साथै ध्वनि र वातावरणीय प्रदूषण बढ्ने जोखिम रहने सशस्त्र प्रहरीले जनाएको छ। अवैध रूपमा ओसारपसार तथा बिक्रीवितरण भइरहेका विस्फोटक सामग्री नियन्त्रण गर्न विशेष अभियान चलाइएको पनि उसले बताएको छ।
पटाका र आतिसबाजीको अनियन्त्रित प्रयोगले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र सर्वसाधारणको स्वास्थ्य तथा सुरक्षामा गम्भीर असर पार्न सक्ने भएकाले यस्ता सामग्री प्रयोग नगर्न प्रहरीले जिल्लावासीलाई आग्रह गरेको छ।
सामग्री नष्ट गर्ने कार्यक्रममा नं. २ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य, भद्रपुर नगरपालिका–८ का वडाध्यक्ष मनोज सुब्बा, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि तथा सञ्चारकर्मी उपस्थित थिए।





