फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको अन्तिम ताकेता, एक साताको समयसीमा

ड्रागन मिडिया सम्वाददाता
पोखरा महानगरपालिकाले फिर्केखोलाको प्राकृतिक बहाव क्षेत्रभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई एक साताको अन्तिम समयसीमा दिएको छ। तोकिएको अवधिभित्र संरचना नहटाइए महानगरपालिकाले प्रचलित कानुनअनुसार आफैं हटाउने र त्यसमा लाग्ने खर्च सम्बन्धित पक्षबाट असुल गर्ने चेतावनी दिएको छ।
महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै फिर्केखोलाको खोलाघर अतिक्रमण गरी बनाइएका संरचना हटाउने यसअघिको निर्देशन कार्यान्वयन गर्न पुनः आग्रह गरेको हो। गत साउन २० गते जारी सूचनामा भदौ १५ गतेभित्र संरचना हटाउन भनिएको थियो। तर, भोटेकोशी–त्रिशूली बाढीबाट उत्पन्न विपद र वर्षायामका कारण कारवाही अघि बढाउन केही ढिलाइ भएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाका अनुसार सम्बन्धित पक्षले यसअघि संरचना हटाउने मौखिक प्रतिबद्धता जनाए पनि निर्धारित समयभित्र कार्यान्वयन गरेका छैनन्। पटकपटक सूचना र पर्याप्त समय उपलब्ध गराउँदासमेत अतिक्रमित क्षेत्र खाली नगरिएकाले अन्तिम समयसीमा तोक्नुपरेको महानगरपालिकाको भनाइ छ।
पोखरा महानगरपालिका–१८ को अँधेरीकुनाबाट शुरु हुने फिर्केखोला वडा नम्बर २, ४, ५, ७, ८ र १७ हुँदै वडा नम्बर ६ को गाईघाटमा पुगेर फेवातालमा मिसिन्छ। शहरको प्राकृतिक जलनिकास प्रणालीसँग जोडिएको यस खोलाको बहाव क्षेत्र विभिन्न स्थानमा अतिक्रमणमा परेको छ। महानगरपालिकाले गत जेठमा मापदण्डविपरीत निर्माण गरिएका केही ठूला संरचना डोजर प्रयोग गरी हटाएको थियो। अन्य संरचना भने अझै यथावत् छन्।
महानगरपालिकाले फिर्केखोलाको अतिक्रमित क्षेत्र खाली गराएर पैदलमार्ग र साइकल लेनसहितको करिडोर निर्माण गर्ने योजना अघि सारेको छ। खोलाको प्राकृतिक स्वरूप संरक्षण गर्दै सार्वजनिक खुला क्षेत्र विस्तार गर्ने र वातावरणमैत्री शहरी पूर्वाधार विकास गर्ने उद्देश्य रहेको महानगरपालिकाले जनाएको छ।
फिर्केखोलामा बढ्दो अतिक्रमण, प्रदूषण, अव्यवस्थित फोहरमैला तथा योजनाविहीन शहरीकरणले खोलाको प्राकृतिक बहाव र पर्यावरणीय अवस्थामाथि दबाब बढाएको भन्दै संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। खोलाको बहाव क्षेत्र सुरक्षित राख्नु वर्षायाममा जलनिकास सहज बनाउन तथा आसपासका बस्ती र सार्वजनिक पूर्वाधारमा सम्भावित क्षति न्यूनीकरण गर्न पनि महत्त्वपूर्ण मानिन्छ।
महानगरपालिकाले फिर्केखोला संरक्षण तथा करिडोर निर्माण अभियानमा सहयोग गर्न स्थानीय बासिन्दा, संरचनाधनी र सम्बन्धित संस्थाहरूलाई आग्रह गरेको छ। अन्तिम समयसीमापछि संरचना हटाउने कारवाही अघि बढाउने घोषणा गरेसँगै यसअघि दिइएका निर्देशनको कार्यान्वयन अब महानगरपालिकाको आगामी कदममा निर्भर रहनेछ।





