मिथ्या सूचना नियन्त्रणमा समाचार समितिबीच सहकार्य आवश्यक : रासस महाप्रबन्धक राई

ड्रागन मिडिया समाचार कक्ष
राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दीप राईले विश्वव्यापी रूपमा फैलिरहेको मिथ्या सूचनाको चुनौती सामना गर्न समाचार समितिहरूबीच समन्वय, तथ्य जाँच र समाचार आदानप्रदानलाई सुदृढ बनाउनुपर्ने बताएका छन्। रुसको मस्कोमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रका समाचार समितिहरूको सङ्गठन (ओएना) को ६५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले विश्वसनीय सूचना प्रवाहमा समाचार समितिहरूको विशेष जिम्मेवारी रहेको उल्लेख गरे।
रुसी समाचार समिति तासको आयोजनामा भइरहेको समारोहमा एसिया तथा प्रशान्त क्षेत्रका ३३ देशका ४२ समाचार समितिको सहभागिता रहेको छ। मिथ्या सूचना नियन्त्रणलाई मुख्य विषय बनाइएको कार्यक्रममा नेपालका तर्फबाट सहभागी महाप्रबन्धक राईले गलत सूचना कुनै एक देश वा क्षेत्रको समस्या मात्र नभई विश्वव्यापी चुनौती बनेको बताए।
समाचार समितिले ठूलो सङ्ख्यामा सञ्चारमाध्यमलाई समाचार उपलब्ध गराउने भएकाले उनीहरूबाट सम्प्रेषित सामग्रीको विश्वसनीयताले व्यापक प्रभाव पार्ने उनको भनाइ थियो। एउटा समाचार समितिबाट प्रवाहित समाचार सयौं सञ्चारमाध्यममार्फत नागरिकसम्म पुग्ने भएकाले स्रोतको प्रमाणीकरण, तथ्य जाँच र सम्पादकीय जिम्मेवारीलाई विशेष प्राथमिकता दिनुपर्ने उनले औंल्याए।
महाप्रबन्धक राईले मिथ्या सूचनाको प्रभाव न्यूनीकरण गर्न समाचार समितिहरूबीच संस्थागत सहकार्य आवश्यक रहेको बताए। उनले तथ्य जाँच गर्ने संस्थाहरूसँगको समन्वय र प्रमाणित समाचारको नियमित आदानप्रदानबाट नागरिकको सही सूचना प्राप्त गर्ने अधिकार संरक्षण गर्न सहयोग पुग्ने धारणा राखे। यस कार्यमा ओएनाजस्ता अन्तर्राष्ट्रिय सङ्गठनले सदस्य संस्थाहरूबीच सहकार्यको साझा आधार निर्माण गर्न सक्ने उनको भनाइ थियो।
विश्वव्यापी आर्थिक दबाब र सूचना प्रविधिको तीव्र विकासका कारण सञ्चारमाध्यमको संरचना तथा कार्यपद्धतिमा परिवर्तन आइरहेको उल्लेख गर्दै उनले समाचार समितिहरूले पनि समयानुकूल आफ्ना सेवा परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए। डिजिटल माध्यममा रूपान्तरण भइरहेका सञ्चार संस्थाहरूलाई उनीहरूको आवश्यकता र प्रविधिअनुकूल विश्वसनीय समाचार सामग्री उपलब्ध गराउनु समाचार समितिहरूको महत्त्वपूर्ण जिम्मेवारी रहेको उनले बताए।
राईले ओएनामा आबद्ध समाचार समितिहरूबीच समाचार आदानप्रदानको सम्बन्ध विस्तार गर्ने प्रस्तावसमेत राखे। यस्तो सहकार्यमा रासस सहभागी हुन तयार रहेको जनाउँदै उनले सदस्य संस्थाहरूको साझा प्रयासबाट अन्तर्राष्ट्रिय समाचार प्रवाहलाई थप विश्वसनीय र प्रभावकारी बनाउन सकिने बताए।
उनले समाचार समितिहरूलाई सञ्चारमाध्यमका लागि समाचार उपलब्ध गराउने संस्थाका रूपमा मात्र नभई सूचना र ज्ञानको प्रसारमा योगदान गर्ने महत्त्वपूर्ण संरचनाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। प्रविधिसँगै नागरिकको सूचना उपभोग गर्ने तरिका परिवर्तन भइरहेकाले समाचार समितिहरूले पनि आफ्ना कार्यप्रणाली, सामग्री र वितरण प्रणालीलाई निरन्तर अद्यावधिक गर्नुपर्ने उनको धारणा थियो।
आइतबारदेखि मस्कोमा शुरु भएको समारोहमा राससले सदस्य संस्थाका रूपमा सहभागिता जनाएको छ। कार्यक्रममा मिथ्या सूचना नियन्त्रण, समाचार समितिहरूको आपसी सहकार्य र बदलिँदो सञ्चार परिवेशमा विश्वसनीय समाचार प्रवाहलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको छ।





