सर्लाहीको हरिपुर्वामा भरतपुर आँखा अस्पतालको सेवा विस्तार, स्थानीयलाई गाउँमै विशेषज्ञ उपचार

ड्रागन मिडिया सम्वाददाता
सर्लाहीको हरिपुर्वा नगरपालिकामा भरतपुर आँखा अस्पतालको सेवा विस्तार गरिएको छ। नेपाल नेत्र ज्योति सङ्घअन्तर्गत सञ्चालित अस्पतालले हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थानसँगको समन्वयमा हरिपुर्वा नगरपालिका–२ स्थित नगर अस्पताल भवनबाट आँखा उपचार सेवा शुरु गरेको हो। सेवा विस्तारसँगै स्थानीय बासिन्दाले आँखा परीक्षण तथा उपचारका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
हरिपुर्वामा आँखा उपचार सेवा शुरु भएपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन्। यसअघि आँखासम्बन्धी समस्या देखिँदा जनकपुर, भरतपुरलगायतका स्थानमा जानुपर्ने अवस्था रहेकोमा अब आफ्नै नगरपालिकामा सेवा उपलब्ध भएको उनीहरूको भनाइ छ। विशेषगरी नियमित परीक्षण र उपचारका लागि पटकपटक यात्रा गर्नुपर्ने बिरामीलाई नयाँ केन्द्रले समय र खर्च बचत गर्न सहयोग पुग्नेछ।
हरिपुर्वा–३ की रुपनी देवीले गाउँमै आँखा उपचार सेवा उपलब्ध हुनु स्थानीय नागरिकका लागि राहतको विषय भएको बताइन्। दुई महिनाअघि खेतमा काम गर्ने क्रममा धानको पातले आँखामा चोट लागेपछि उपचारका लागि जनकपुर र भरतपुरसम्म पुग्नुपरेको अनुभव सुनाउँदै उनले त्यस क्रममा आर्थिक तथा शारीरिक कठिनाइ भोग्नुपरेको उल्लेख गरिन्।
उनले उपचार केन्द्रमा चिकित्सकको नियमित उपस्थिति सुनिश्चित गर्नुपर्ने मागसमेत गरिन्। ग्रामीण क्षेत्रमा शुरु भएका स्वास्थ्य सेवा केही समयपछि बन्द हुने समस्याप्रति चिन्ता व्यक्त गर्दै उनले केन्द्र निरन्तर सञ्चालन भए हरिपुर्वासँगै आसपासका पालिकाका नागरिक पनि लाभान्वित हुने बताइन्।
हरिपुर्वा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबाबु रायले आँखा उपचार सेवा स्थानीय स्तरमै उपलब्ध भएपछि बिरामीले उपचारका लागि विभिन्न स्थानमा भौंतारिनुपर्ने समस्या कम हुने विश्वास व्यक्त गरे। नगरपालिकाले उपचार केन्द्रमार्फत नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्य राखेको उनले बताए।
नगरप्रमुख विनोदकुमार साह तेलीका अनुसार उपचार केन्द्र सञ्चालनका लागि आवश्यक सामग्री र औषधिको व्यवस्था गरिएको छ। केन्द्रले नियमित सेवाका अतिरिक्त आवश्यकताअनुसार निःशुल्क आँखा शिविर सञ्चालन गर्ने योजना बनाएको छ। त्यस्ता शिविरमार्फत मोतियाविन्दुको शल्यक्रियालगायतका सेवा उपलब्ध गराइने उनले जानकारी दिए।
ग्रामीण क्षेत्रमा आँखा उपचारको पहुँच विस्तारसँगै सेवा निरन्तरता, चिकित्सकको उपलब्धता र आवश्यक उपकरणको व्यवस्थापन महत्त्वपूर्ण हुने स्थानीय बासिन्दाले बताएका छन्। भरतपुर आँखा अस्पतालको सेवा हरिपुर्वासम्म विस्तार भएपछि सर्लाहीको पूर्वी क्षेत्रका नागरिकका लागि आँखासम्बन्धी स्वास्थ्य सेवा प्राप्त गर्ने थप विकल्प उपलब्ध भएको छ।





